विद्यालय तहदेखि खेल प्रतिभा पहिचान गरिने

काठमाडौँ। सरकारले खेलकुद क्षेत्रलाई राष्ट्रिय एकता, जनस्वास्थ्य प्रवर्द्धन, पर्यटन विकास तथा आर्थिक समृद्धिसँग आबद्ध गर्दै विद्यालय तहदेखि नै खेल प्रतिभा पहिचान तथा विकास कार्यक्रम सञ्चालन गर्ने भएको छ।

संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सोमबार सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रस्तुत सरकारको नीति तथा कार्यक्रममा खेल क्षेत्रको व्यावसायीकरणलाई प्रोत्साहन गरिने, निजी क्षेत्रको सहभागिता विस्तार गरिने तथा खेलाडीको सामाजिक सुरक्षा सुनिश्चित गरिने उल्लेख गरिएको हो।

नीति तथा कार्यक्रममा खेल पूर्वाधार विकास, प्रतिस्पर्धात्मक खेल संस्कृतिको प्रवर्द्धन तथा अन्तरराष्ट्रियस्तरमा नेपालको खेल पहिचान स्थापित गर्ने दिशामा सरकार प्रतिबद्ध रहेको जनाइएको छ।

युवालाई राष्ट्र निर्माण तथा सामाजिक रूपान्तरणमा सक्रिय बनाउने उद्देश्यले राष्ट्रिय स्वयंसेवक कार्यक्रम सञ्चालन गरिने भएको छ। उक्त कार्यक्रममार्फत युवालाई वित्तीय साक्षरता, समुदाय सेवा, नवप्रवर्तन र स्थानीय विकासका गतिविधिमा परिचालन गरिने सरकारको लक्ष्य रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *