एजेन्सी । लण्डन क्लब आर्सनल प्रिमियर लिगको उपाधि नजिक पुगेको छ । आइतबार राति भएको खेलमा वेस्टहाम युनाइटेडलाई १-० गोलले पराजित गर्दै आर्सनलले शीर्ष स्थानमा ५ अंक अग्रता बनाउँदै २२ वर्षपछि उपाधि जित्ने सम्भावनालाई बलियो बनाएको हो ।
लण्डन स्टेडियममा भएको खेलमा आर्सनललाई जित दिलाउन लिएनार्द्रो ट्रोसार्डले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ८३ औँ मिनेटमा ओडेगार्डको पासमा ट्रोसार्डले गोल गर्दै आर्सनललाई खेलमा अगाडि बढाएका थिए । दोस्रो हाफको इन्जुरी समयको पाँचौ मिनेटमा कालुम विल्सनले गोल गर्दै वेस्ट हामलाई बराबरीमा ल्याएका थिए । तर पाब्लोले आर्सनलका गोलरक्षक डेभिड रायालाई फावल गरेपछि भिआरले उक्त गोललाई मान्यता नदिएपछि आर्सनल १-० गोलले विजयी भएको हो ।
जितसँगै आर्सनल ३६ खेलबाट ७९ अंक जोड्दै लिगको शीर्ष स्थानमा रहेको छ । जुन एक खेल कम खेल्दै दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको भन्दा एक पाँच अंक बढि हो । पराजित वेस्ट हाम ३६ खेलबाट ३६ अंक जोड्दै १८ औँ स्थानमा रहेको छ ।
