काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।
कानुन दिवसका अवसरमा आयोजित कार्यक्रममा कामु प्रधानन्यायाधीश मल्लले दुई तिहाईको दम्भ र महाभियोगको धम्कीबाट नडराउन न्यायाधीशहरुलाई आग्रह गरेकी थिइन् । त्यस्तै उनले लड्न अझै बाँकी रहेको बताएकी थिइन् ।
आइतबार पार्टीका सांसदहरुको प्रशिक्षण कार्यक्रममा सभापति लामिछानेले संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा गरेको सिफारिस संविधानसम्मत रहेको भन्दै यस्ता अभिव्यक्ति सडकको विषय नबनाउन आग्रह गरे ।
उनले आफ्नो गर्धन अहिले पनि अदालतमै रहेकाले रिस उठेको भए चलाउन चुनौती दिए । उनले भने, ‘मेरो कुरा गर्नुहुन्छ भने मेरो त गर्धन अहिले पनि त्यहीँ छ । त्यस्तो रिस उठेको छ भने चलाइदिनुस् हतियार । बुझाएर आएको छु आफ्नो गर्धन । होइन भने न्यायालयको गरिमा, प्रतिष्ठालाई सडकको विषय बनाउनु हुँदैन ।’
सभापति लामिछानेले प्रधानन्यायाधीशका लागि प्रस्तावित ६ जना सबै योग्य भएको बताए । उनले भने, ‘एक जना कसैले भनिदियोस् कसरी असंवैधानिक भयो ? ६ जनालाई योग्य भनेर संवैधानिक सिफारिस किन गरेको ? त्यहीँ असंवैधानिक भयो होला नि । ६ जनाको साटो वरिष्ठतम जो हुनुहुन्छ उहाँलाई नै दिनुपर्ने छ संविधानमा भनेको भए हुन्थ्यो । संवैधानिक परिषद्को बैठक नै बस्नु पर्थेन ।’
