बीबीसी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले रुस र युक्रेनबीच तीन दिने युद्धविरामको घोषणा गरेका छन् । नाजी जर्मनीमाथि तत्कालीन सोभियत सङ्घले विजय हासिल गरेको सम्झनामा खुसियाली मनाउन रुस र युक्रेनले घोषणा गरेको एउटा छुट्टै युद्धविराम उल्लङ्घन गरेको आरोप एकअर्कामाथि लगाइरहेका बेला ट्रम्पले पछिल्लो घोषणा गरेका हुन् ।
तीन दिने युद्धविरामका क्रममा दुई देशबीच एक÷एक हजार जना कैदीहरू साटासाट गरिने पनि ट्रम्पले उल्लेख गरेका छन्।
त्यसलगत्तै युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्धविराममा युक्रेनको संलग्नता पुष्टि गरे भने रुस पनि त्यसमा सहमत भएको रुसी सञ्चारमाध्यमले उल्लेख गरे।
त्यसअघि दुवै पक्षले एकअर्कामाथि आक्रमण जारी राखेका थिए र मस्कोका मेयरले उनको शहरलाई रातभरि ड्रोन हमलाको निशाना बनाइएको बताएका थिए।
आफ्नो पोस्टमा ट्रम्पले तीन दिने युद्धविरामका लागि व्यक्तिगत रूपमा आफूले आग्रह गरेको भन्दै त्यसमा सहमत भएकोमा राष्ट्रपति भ्लादिमिर पुटिन र राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको प्रशंसा गरेका छन्।
‘रुस र युक्रेनबीच मे ९, १० र ११ तारिखका दिन तीन दिने युद्धविराम हुने घोषणा गर्न पाउँदा मलाई खुसी लागेको छ। रुसमा विजय दिवस मनाइन्छ र युक्रेनमा पनि उत्सव मनाइन्छ। किनभने तिनीहरू द्वितीय विश्वयुद्धका पनि हिस्सा थिए।’
‘यस युद्धविराममा लडाइँका सबै गतिविधि बन्द गर्ने र दुवै देशबाट एक÷एक हजार जना कैदीहरूको साटासाट समावेश हुने छ। मेरो अनुरोधमा सहमत भएकोमा म राष्ट्रपति भ्लादिमिर पुटिन र राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीप्रति आभारी छु।’
