आईपीएलमा बैंगलुरु पराजित, शीर्ष स्थानमा उक्लिने मौका गुमायो

एजेन्सी । इन्डियन प्रिमियर लिग(आईपीएल)मा रोयल च्यालेन्जर्स बैंगलुरु पराजित भएको छ । बिहीबार राति भएको खेलमा लखनउ सुपर जायान्ट्ससँग डकवर्थ लुइस पद्दतिको आधारमा ९ रनले पराजित भएसँगै बैंगलुरुले शीर्ष स्थानमा उक्लिने मौका गुमाएको हो ।

जितको लागि २ सय १३ रनको विजयी लक्ष्य पछ्याएको बैंगलुरुले १९ ओभरमा ६ विकेटको क्षतिमा २ सय ३ रनमात्र बनाउन सक्यो । खेलमा खराब शुरुवात गरेको बैंगलुरुले १.२ ओभरमा ९ रन जोड्दा दुई विकेट गुमाएको थियो । त्यसपछि ब्याटिङमा आएका देवदत्त पडिक्कल र कप्तान रजत पतिडरले बैंगलुरुको इनिंस उकासेका थिए । रजतले ३२ बलमा ६ छक्का र ३ चौकाको मद्दतमा ६१ रन बनाउँदा पडिक्कलले ३४ रन बनाए । यस्तै टिम डेभिडले ४०, कुर्नाल पान्ड्यले २८ र रोमारियो शेफर्डले २३ रन जोडेपनि जितको लागि पर्याप्त रहेन ।

लखनउको लागि प्रिन्स यादवले ४ ओभरमा ३३ रन दिएर तीन विकेट लिंदा शहबाज अहमदले दुई र मोहम्मद शामीले एक विकेट लिए ।

यसअघि लखनउमा भएको खेलमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको घरेलु टोलीले निर्धारित १९ ओभरमा तीन विकेटको क्षतिमा २ सय ९ रन बनाएको थियो । वर्षाले बिथालेपछि खेल १९ ओभरमा छोट्याइएको थियो । लखनउको लागि मिट्चेल मार्शले ५६ बलमा ९ चौका र ९ छक्काको मद्दतमा १ सय ११ रन बनाएका थिए । यस्तै निकोलस पुराणले ३८, कप्तान रशिभ पन्त ३२ र अर्शिंन कुल्कार्नी १७ रन बनाएका थिए ।

बैंगलुरुको लागि जोश हज्लेवुड, कुर्नाल पान्ड्य र रसिख सलामले समान एक/एक विकेट लिए ।

जितका बाबजुत लखनउ १० खेलबाट ६ अंक जोड्दा अंकतालिकाको पुछारमा रहेको छ भने बैंगलुरु समान खेलबाट १२ अंक जोड्दै अंक तालिकाको तेस्रो स्थानमा यथावत रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *