पोखरा स्पोर्ट्स अवार्ड : मनोनयनमा परेका १२ खेलाडीको नाम सार्वजनिक

कास्की । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले ३१ वैशाखमा पोखरामा आयोजना गर्न लागेको दशाैँ संस्करणको ‘पोखरा स्पोर्टस् अवार्ड’अन्तर्गत चार विधामा मनोनयमा परेका १२ खेलाडीको नाम सार्वजनिक गरेको छ । मञ्चले पोखरामा बिहीबार पत्रकार सम्मेलन गरी वर्ष उत्कृष्ट खेलाडी पुरुष, वर्ष उत्कृष्ट खेलाडी महिला, उदीयमान खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षक गरी चार विधाअन्तर्गत मनोनयनमा परेका ती खेलाडीको नाम सार्वजनिक गरेको हो ।

‘वर्ष उत्कृष्ट पुरुष खेलाडी’को मनोनयनमा जुडोका विज्ञान टी खत्री, टेनिसका प्रदीप खड्का र भलिबलका सन्जु विक्रम शाह परेका छन् । त्यसैगरी ‘वर्ष उत्कृष्ट महिला खेलाडी’ विधामा आर्चरीकी मोनिका रानामगर, एथलेटिक्सकी नारायणी भण्डारी र जुडोकी मनिषा तामाङ छन् ।

‘उदीयमान खेलाडी’तर्फ एथलेटिक्सकी अनुष्का अधिकारी, तेक्वान्दोका सचिन सुनार र ब्याडमिन्टनकी निभा राई मनोनयनमा छन् भने ‘वर्ष उत्कृष्ट प्रशिक्षक’को सूचीमा टेनिसका कुमार अधिकारी, तेक्वान्दोकी रेखमाया गुरुङ र एथलेटिक्सका सिद्धान्त अधिकारी छन् ।

हिमश्री फुड्स प्रालिका प्रबन्ध निर्देशक प्रकाश केसीले मनोनयनमा परेकाहरूको नामावली सार्वजनिक गरे । मञ्चका अध्यक्ष एमबी आस्था मगरले विगत एक वर्ष अवधिमा खेलाडी तथा प्रशिक्षकले गरेको प्रदर्शनका आधारमा उत्कृष्टभित्र पर्नेको नाम सार्वजनिक गरिएको बताए ।

यसैगरी मञ्चले ‘वर्ष उत्कृष्ट खेल संघ’का रूपमा कास्की जिल्ला क्रिकेट संघ र ‘वर्ष उत्कृष्ट खेल पत्रकार’का रूपमा दीननाथ बराललाई छनोट गरिसकेको छ । यस वर्ष कुल नौ विधामा अवार्ड प्रदान गरिने जनाइएको छ । जसमा लाइफ टाइम एचिभमेन्ट, स्पेसल अवार्ड र पिपुल्स च्वाइस अवार्ड समेत छन् ।

पिपुल्स च्वाइस अवार्डका लागि क्रिकेटका विपिन खत्री, फुटबलका दीप कार्की, एथलेटिक्सकी नारायणी भण्डारी, भलिबलका राजन दर्लामी र मुवाथाई/आईटीएफ तेक्वान्दोकी सुस्मिता थापा छिन् ।

मञ्चले गण्डकी प्रदेशका खेलकुद क्षेत्रका उत्कृष्ट प्रतिभालाई सम्मान गर्ने उद्देश्यसहित आयोजना हुँदै आएको अवार्डलाई निरन्तरता दिएको हो । मञ्चले खेलाडीहरूको मनोबल उच्च राख्न र खेलकुद क्षेत्रको समग्र विकासमा टेवा पुर्‍याउन अवार्ड कार्यक्रमलाई निरन्तरता दिएको जनाएको छ । वर्ष उत्कृष्ट खेलाडी महिला र पुरुषले एक/एक थान स्कुटर पुरस्कारस्वरूप प्राप्त गर्नेछन् ।

विगत एक वर्षभरिको प्रदर्शनका आधारमा मनोनयनमा परेका खेलाडीहरूबीच ‘पिपल्स च्वाइस अवार्ड’ का लागि प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । मञ्चका अनुसार यसको विजेता अनलाइन भोटिङ मार्फत घोषणा गरिनेछ । जसका लागि खल्ती एपमार्फत देश तथा विदेशमा रहेकाहरूले भोट गर्न पाउने मञ्चका महासचिव प्रशुराम शर्माले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *