काठमाडौँ ।आजदेखि सुरु भएको त्रिकोणात्मक एक दिवसीय अभ्यास खेलमा नेपाल ‘ए’ टोलीले स्कटल्याण्डको राष्ट्रिय टोलीलाई जितका लागि २७८ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ ।
माथिल्लो मुलपानी क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ‘ए’ ले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २७७ रनको योगफल बनाएको हो । नेपाल ‘ए’ का लागि देव खनालले सर्वाधिक ६३ रनको योगदान दिए । उनले ६५ बलमा ६ चौका र एक छक्काको सहयोगमा सर्वाधिक ६३ रनको बनाएका हुन ।
त्यसैगरी ओपनर मयन यादवले ४५ रन बनाउँदा कप्तान अनिलकुमार साहले १८ रन जोडे । सन्दीप जोरा ३४, पवन सरार्फ ३१ तथा नारायण जोशी ८ रन बनाउँदै आउट भए । दीपक डुम्रेले अविजित २३ रन बनाए ।
स्कटल्याण्डका लागि ब्राण्डली करी र सफियान सरिफले समान २÷ २ विकेट लिए भने ओलिभर डेभिडसन, ब्राण्डन म्याकमुलन, ज्याक जार्भिस र मार्क वाटले समान १÷१ विकेट लिए । स्कटल्याण्ड अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।
