भोजपुर महिला फुटबलमा धरानलाई हराउँदै सङ्खुवासभा–११ फाइनलमा

टक्सार। जिल्ला सदरमुकाममा आयोजित मेयर कप महिला फुटबल प्रतियोगिताअन्तर्गत मंगलबार भएको सेमिफाइनल खेलमा फेयर फुटबल क्लब धरानलाई ‘पेनाल्टी’मा ४–२ गोलअन्तरले हराउँदै सङ्खुवासभा–११ फाइनल प्रवेश गरेको छ ।

आठौँ संस्करणको खेलअन्तर्गत आजको पहिलो सेमिफाइनलमा खेलको अन्तिम समयमा दुवै टोलीबाट एक–एक गोल भएपछि खेल पेनाल्टीतर्फ धकेलिएको थियो । खेलको निर्धारित समयमा सङ्खुवासभाका लागि जर्सी नं ९ का अनिता रानामगरबाट एक गोल र धरानका लागि जर्सी नं ५ का युनिशा राईबाट एक गोल भएको थियो ।

पेनाल्टीतर्फ सङ्खुवासभा–११ का लागि जर्सी नं १४ मनिता तामाङ, जर्सी नं ९ अनिता रानामगर, जर्सी नं ७ मनिषा थापामगर र जर्सी नं ८ किरण लिम्बूबाट एक–एक गोल भयो भने धरानका लागि जर्सी नं २ विजेता राई र जर्सी नं ५ युनिशा राईले एक–एक गोल गरे । यस खेलको ‘म्यान अफ दी म्याच’ सङ्खुवासभाका गोलरक्षक झरना नगरकोटीले ट्रफीसहित रु दुई हजार पाइन् ।

दोस्रो सेमिफाइनल खेल लेटाङ फुटबल क्लब र गेरबाबा फुटबल क्लब झापाबीच हुने आयोजक भोजपुर जिल्ला फुटबल सङ्घका अध्यक्ष प्रवीण सुवालले जानकारी दिए । बुधबार हुने फाइनल खेल हुनेछ भने विजेताले नगद रु एक लाख छ हजार र उपविजेताले ५५ हजार पाउनेछन् ।

जिल्ला फुटबल सङ्घको आयोजना तथा भोजपुर नगरपालिकाको मुख्य प्रायोजनमा वैशाख २१ देखि प्रतियोगिता सुरु भएको हो । भोजपुर नगरपालिका–७ कोदार रङ्गशालामा जारी प्रतियोगितामा भोजपुर नगरपालिका–१० भैसीपङ्खा, सङ्खुवासभा–११ सङ्खुवासभा, फेयर फुटबल क्लब धरान, रिमाचुङ फुटबल क्लब टेम्केमैयुङ, लेटाङ फुटबल क्लब र गेरबाबा फुटबल क्लब झापाले सहभागिता जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *