काठमाडौं । जिल्ला अदालत काठमाडौँले नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छालाई थुनामा राख्न म्याद थपका लागि अस्वीकार गरेको छ ।
अदालतबाट थुना म्याद अस्वीकार भएपछि गोल्छा आजै हाजिर जमानीमा रिहा भएका छन् । सोमबार सर्वोच्च अदालतले गोल्छालाई धरौटी वा जमानतमा छाड्न आदेश दिएको थियो । जमानतमा छाड्न आदेश दिएलगत्तै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई पुनः पक्राउ गरी आज अदालतमा म्याद थपका लागि उपस्थित गराएको थियो ।
न्यायाधीश मोना सिंहको इजलासले गोल्छाविरुद्ध म्याद थप नगरी हाजिर जमानीमा छाड्न आदेश दिएको हो । सर्वोच्चले गोल्छाको पक्राउमा कानुनी प्रक्रियामा त्रुटि देखाउँदै थुनामुक्त गरेर धरौटी जमानतमा अनुसन्धान अघि बढाउन आदेश दिएको थियो । सर्वोच्चको आदेशपछि सीआईबीले गोल्छालाई पाँच लाख रुपैयाँ धरौटीमा छाडेको थियो ।
धरौटीमा रिहा भएलगत्तै बीमासम्बन्धी कसुरमाथि अनुसन्धानका निम्ति भन्दै सोमबारै पुनः उनलाई पक्राउ गरिएको थियो ।
