एजेन्सी । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले संघर्घपूर्ण जित निकालेको छ । आइतबार राति भएको खेलमा लिभरपुललाई ३-२ गोलले पराजित गर्दै युनाइटेडले शीर्ष पाँच स्थान पक्का गरेको हो ।
ओल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेडलाई जित दिलाउन माथेउस कुन्हा, बेन्जामिन सेस्को र कोबी माइनोले समान एक/एक गोल गरे । लिभरपुलको लागि डोमिनिक स्जोबोस्ज्लाई र कोडी गाक्पोले एक/एक गोल फर्काए । छैटौँ मिनेटमा कुन्हाले गोल गर्दै युनाइटेडलाई शुरुवाती अग्रता दिलाएका थिए ।
१४ औँ मिनेटमा सेस्कोले गोल गर्दै युनाइटेडको अग्रता दोब्बर बनाए । ४७ औँ मिनेटमा स्जोबोस्ज्लाईले गोल गर्दै लिभरपुललाई २-१ गोलको स्थितिमा ल्याएका थिए । ५६ औँ मिनेटमा गाक्पोले गोल गर्दै लिभरपुललाई २-२ गोलको बराबरीमा ल्याए ।
७७ औँ मिनेटमा माइनोले गोल गर्दै युनाइटेडलाई ३-२ गोलको अग्रता दिलाएका थिए । बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा युनाइटेड ३-२ गोलले विजयी भएको हो ।
जितसँगै युनाइटेड ३५ खेलबाट ६४ अंक जोड्दै अंक तालिकाको तेस्रो स्थानमा रहेको छ । समान खेलबाट ५८ अंक जोड्दै लिभरपुल चौथो स्थानमा रहेको छ ।
