अल–नासरको १७ खेलको अपराजित यात्रा अन्त्य, अल–कादसियासँग ३–१ गोलले पराजित

एजेन्सी । साउदी प्रो लिगको शीर्ष स्थानमा रहेको अल–नासरले १७ खेलपछि पहिलो हार व्यहोरेको छ । प्रिन्स मोहम्मद बिन फहद स्टेडियममा भएको खेलमा अल–कादसियाले अल–नासरलाई ३–१ गोलले पराजित गर्दै १६ खेलको लगातार जितको यात्रा अन्त्य गरिदिएको हो ।

खेलको सुरुआतमै अल–नासरले दबाब महसुस गरेको थियो, जहाँ ११औँ मिनेटमा मोहम्मद अबु अल–शामतको प्रयासलाई गोलकिपर बेन्टोले रोकेका थिए । तर त्यसको केही समयपछि नै अल–नासरले त्यो चेतावनीलाई बेवास्ता गर्दा पहिलो हाफको मध्यतिर अल–शामतले क्रिस्टोफर बोन्सु बाआहको क्रसलाई गोलमा परिणत गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए ।

अर्कोतर्फ, क्रिस्टियानो रोनाल्डोको प्रहार क्रसबारमा लागेर फर्किएको केहीबेरमै ३९औँ मिनेटमा अल–नासरले बराबरी गोल फर्कायो । मार्सेलो ब्रोजोभिचको लो–क्रसमा जोआओ फेलिक्सले उत्कृष्ट फर्स्ट–टाइम सटमार्फत बललाई जालीको माथिल्लो कुनामा राख्दै खेल १–१ को बराबरीमा ल्याएका थिए ।

तर दोस्रो हाफको १०औँ मिनेटमा ब्रोजोभिच बल नियन्त्रणमा कमजोर देखिँदा अल–कादसियाले त्यसको फाइदा उठायो । जुलियन किन्योनेसले दिएको पासमा मुसाब अल–जुवाएरले सहज गोल गर्दै टोलीलाई पुनः अग्रता दिलाए ।

खेल सकिन १२ मिनेट बाँकी रहँदा अल–नासरको रक्षात्मक कमजोरी पुनः उजागर भयो । बक्सभित्र आएको बललाई क्लियर गर्न नसक्दा किन्योनेसले तेस्रो गोल थप्दै अल–कादसियाको जित सुनिश्चित गरे ।

यस हारसँगै अल–नासरको उपाधि दौडमा ठूलो धक्का लागेको छ भने दोस्रो स्थानमा रहेको अल–हिलालले मंगलबार अल–खलीजविरुद्ध जित निकालेमा अंक दूरी केवल दुईमा झार्ने अवसर पाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *