काठमाडौँ । भारतले कैलाश मानसरोवर यात्राको सन्दर्भमा नेपालले उठाएका सीमा सम्बन्धी दाबीहरू अस्वीकार गरेको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले सञ्चारमाध्यमका जिज्ञासाको जवाफ दिँदै लिपुलेक पास सन् १९५४ देखि नै कैलाश मानसरोवर यात्राको परम्परागत मार्ग रहँदै आएको र सो मार्गबाट दशकौँदेखि यात्रा सञ्चालन हुँदै आएको उल्लेख गरेका छन् । उनले यो कुनै नयाँ विकास नभएको स्पष्ट पारेका छन् ।
प्रवक्ता जैसवालले भू–भाग सम्बन्धी दाबीहरू ऐतिहासिक तथ्य र प्रमाणमा आधारित नभएको दाबी गर्दै एकतर्फी दाबी गर्नु अस्वीकार्य रहेको बताए । त्यस्तै, भारतले नेपालसँग द्विपक्षीय सम्बन्धका सबै विषयमा संवादमार्फत समाधान खोज्न तयार रहेको जनाएको छ । बाँकी रहेका सीमासम्बन्धी विवादहरू कूटनीतिक माध्यमबाट टुंग्याउन भारत खुला रहेको पनि मन्त्रालयले जनाएको छ।
नेपाली भूमि लिपुलेक हुँदै आयोजना गर्ने भनिएको कैलाश मानसरोवर यात्राका सम्बन्धमा नेपाल सरकारले आफ्नो स्पष्ट अडान र सरोकार भारत तथा चीन दुवै पक्षलाई कूटनीतिक नोट पठाएलगत्तै भारतको यस्तो जवाफ आएको हो ।

