रेपा अनुवाद समिति गठन, बौद्ध ग्रन्थ नेपालीमा अनुवाद सुरु

काठमाडौं । बौद्ध धर्मका मूल ग्रन्थहरूलाई नेपाली भाषामा अनुवाद गर्ने महत्वाकांक्षी योजनासहित “रेपा अनुवाद समिति” गठन गरिएको छ । बुद्ध जयन्ती २५७० को पावन अवसरमा  गठन गरिएकाे समितिले अनुवाद कार्य पनि औपचारिक रूपमा सुरु गरेकाे छ ।

समितिअनुसार बौद्ध दर्शनका गहिरा शिक्षालाई नेपाली पाठकसम्म सहज रूपमा पुर्‍याउने उद्देश्यले यो पहल थालिएको हो । विशेषगरी पञ्च महाशास्त्र अन्तर्गतका ग्रन्थहरू तथा तिनका टीकाहरू अनुवाद गरिनेछ ।

समितिको संरचनामा संस्थापक तथा अध्यक्षका रूपमा गुरु छोग्याल रिन्पोछे रहेका छन् । परियोजना निर्देशक तथा मूल अनुवादकको जिम्मेवारी लोपोन छिरिङ रावलले सम्हाल्नुभएका छन्। उनले अनुवाद कार्यको नेतृत्व गर्नुका साथै मस्यौदा, सम्पादन र अन्तिम रूप दिने कामको निरीक्षण गर्नेछन् ।

त्यस्तै, परियोजना प्रबन्धक तथा अनुवादकका रूपमा गुरु रत्न मंगल रहेका छन् । उनले ग्रन्थ अनुवाद, समन्वय, प्रकाशन व्यवस्थापन तथा अनुवादक–सम्पादकबीच सहकार्यको जिम्मेवारी निर्वाह गर्नेछन् ।

सल्लाहकार तथा अनुवादकमा खेन्पो जीतलाल र सल्लाहकार तथा सहायकमा जीवराज गुरुङ रहेका छन् ।

समितिले अनुवाद गर्ने प्रमुख विषयहरूमा प्रमाण, मध्यमक, अभिधर्म, प्रज्ञापारमिता र विनय लगायतका बौद्ध दर्शनका महत्वपूर्ण शास्त्रहरू समेटिएका छन् । समितिका अनुसार “पञ्च महाशास्त्र” भन्नाले केवल पाँच ग्रन्थ मात्र नभई ती विषयसँग सम्बन्धित भारत तथा तिब्बती (भोट) विद्वानहरूले रचना गरेका विविध ग्रन्थहरू समेत समावेश गरिनेछन् ।

परियोजना निर्देशक लोपोन छिरिङ रावलले बुद्ध पूर्णिमाको अवसरमा यस्तो महत्वपूर्ण यात्रा सुरु भएको उल्लेख गर्दै गुरूको आशिर्वाद, परिवारको साथ र सहकर्मीहरूको सहयोगले साे कार्य सफलतापूर्वक सम्पन्न हुने विश्वास व्यक्त गरे ।

समितिको यस पहलले बौद्ध दर्शनका गहन ज्ञानलाई नेपाली भाषामा विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *