एजेन्सी । इंग्लिस प्रिमियर लिगमा आर्सनलले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा फुल्हामलाई ३-० गोलले हराउँदै आर्सनलले शीर्ष स्थानमा ६ अंकको अग्रता लिएको हो ।
इमिरेट्स स्टेडियममा भएको खेलमा आर्सनललाई जित दिलाउन भिक्टर ग्योकेरेसले दुई गोल गर्दा बुकायो साकाले एक गोल गरे । खेलको नवौं मिनेटमा ग्योकेरेसले गोल गर्दै आर्सनललाई शुरुवाती अग्रता दिलाए । ४० औँ मिनेटमा साकाले गोल गर्दै आर्सनलको अग्रता दोब्बर बनाए । पहिलो हाफको इन्जुरी समयमा ग्योकेरेसले हेडर गोल गर्दै आर्सनललाई सहज जिततर्फ अगाडि बढाए ।
दोस्रो हाफमा दुवै टोलीबाट थप गोल हुन नसक्दा आर्सनल ३-० गोलले विजयी भएको हो । जितसँगै आर्सनल ३५ खेलबाट ७६ अंक जोड्दै लिगको शीर्ष स्थानमा रहेको छ । दुई खेल कम खेलेको सिटी ७० अंकको साथ दोस्रो स्थानमा रहेको छ भने ३५ खेल खेलको फुल्हाम ४८ अंकको साथ दसौं स्थानमा रहेको छ ।
