एजेन्सी । स्पेनिस लिग ला लिगाको शीर्ष स्थानमा बार्सिलोनाले १४ अंकको अग्रता लिएको छ । शनिबार राति भएको खेलमा ओसासुनालाई २-१ गोलले हराउँदै बार्सिलोनाले लिग जित्ने सम्भावनालाई बलियो बनाएको हो ।
इस्टाडियो एल सादरमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन रोबर्ट लेवान्डोस्की र फेरान टोरेसले समान एक/एक गोल गरे । ओसासुनाको लागि राउल गार्सियाले एक गोल फर्काए । खेलको ८१ औँ मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई शुरूवाती अग्रता दिलाएका थिए ।
८६ औँ मिनेटमा टोरेसले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाए । ८८ औँ मिनेटमा गार्सियाले गोल गर्दै ओसासुनालाई २-१ गोलको स्थितिमा ल्याए । बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा बार्सिलोना २-१ गोलले विजयी भएको हो ।
जितसँगै बार्सिलोना ३४ खेलबाट ८८ अंक जोड्दै अंक तालिकाको शीर्ष स्थानमा रहेको छ । समान खेलबाट ४२ अंक जोडेको ओसासुना दसौं स्थानमा रहेको छ ।
एक खेल कम खेलेको रियल म्याड्रिड ७४ अंकको साथ दोस्रो स्थानमा रहेको छ । आजको खेलमा म्याड्रिड पराजित भएको खण्डमा बार्सिलोनाले ४ खेल अगावै उपाधि जित्नेछ । अन्यथा बार्सिलोनालाई आगामी हप्ता घरेलु मैदानमा हुने ‘एल क्लासिको’मा रियल म्याड्रिडलाई हराउँदै उपाधि जित्ने अवसर रहनेछ ।
