काठमाडौँ । देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परेर पछिल्लो २४ घण्टामा आठ जनाले ज्यान गुमाएका छन्।
सुनसरी, सर्लाही, बारा, कास्की, नवलपरासी पूर्व, कञ्चनपुर, धनुषा र बर्दियामा भएका यी दुर्घटनामा परी ज्यान गुमाउनेमा तीन जना बालबालिका समेत रहेका छन्।
सुनसरीको दुहबी नगरपालिका-२ तुथाहामा बसको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ। प्र.१-०२-००२ ख ११११ नम्बरको बसले ठक्कर दिँदा गम्भीर घाइते भएका अन्दाजी ५० वर्षीय पुरुषको कोसी अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको हो। प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको छ।
त्यस्तै सर्लाहीको लालबन्दी नगरपालिका-४ मा ना.५ त ३११३ नम्बरको ट्याक्टरले ठक्कर दिँदा ६ वर्षीया बालिका अन्सु भट्टराईको घटनास्थलमै मृत्यु भएको छ। साइकलमा सवार रहेकी उनलाई ट्याक्टरले ठक्कर दिएको थियो भने दुर्घटनामा घाइते भएका अर्का एक जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।
बाराको कलैया उपमहानगरपालिका-२४ मा मोटरसाइकलको ठक्करबाट ७० वर्षीया पैदलयात्री दहउरा देवी महतोको ज्यान गएको छ। म.प्र.०३-०२६ प ००८४ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएकी उनको परवानीपुरस्थित एलएस न्यूरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
]यता धनुषाको हंसपुर नगरपालिका-२ बक्चौडामा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा १४ वर्षीय किशोर कृष्ण मण्डलको मृत्यु भएको छ। मोटरसाइकल चालक रहेका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा पनि दुर्घटनाका कारण जनधनको क्षति भएको छ। कास्कीको अन्नपूर्ण गाउँपालिका-९ सुधामेमा बोलेरोको ठक्करबाट ६ वर्षीया बालिका सुस्मा आलेको मृत्यु भएको छ। बाटो काट्ने क्रममा ग.१ ज ८७१९ नम्बरको बोलेरोले ठक्कर दिँदा घाइते भएकी उनको पोखराको फिस्टेल अस्पतालमा मृत्यु भएको हो।
नवलपरासी पूर्वको कावासोतीमा रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा ३६ वर्षीया निशा कुमालको ज्यान गएको छ। दुर्घटनामा गम्भीर घाइते भएकी निशाको उपचारका क्रममा कालीगण्डकी अस्पतालमा मृत्यु भएको हो।
कञ्चनपुर र बर्दियामा भएका दुर्घटनामा पनि दुई जना बालबालिकाले ज्यान गुमाएका छन्। कञ्चनपुरको दोधारा चाँदनीमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय विवश चुनाराको घटनास्थलमै मृत्यु भएको छ। मोटरसाइकल चालक घाइते भएका छन् भने टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। बर्दियाको गुलरिया नगरपालिका-११ मा गाडीको ठक्करबाट ८ वर्षीया नाजिया साइको मृत्यु भएको छ। नेपालगञ्जतर्फ आउँदै गरेको गाडीले ठक्कर दिँदा उनको घटनास्थलमै ज्यान गएको हो। यी सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
