पोखरा । विभागीय टोली त्रिभुवन आर्मी फूटबल क्लब पोखरामा जारी महिला गोल्डकप फूटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । शनिबार दिउँसो भएको खेलमा संकटा क्लबलाई ४-२ गोलले हराउँदै आर्मीले फाइनलमा स्थान बनाएको हो ।
पोखरा रंगशालामा भएको खेलमा आर्मीलाई जित दिलाउन चन्द्रा भण्डारीले दुई तथा दीपा शाही र हिमा चौधरीले समान एक/एक गोल गरिन् । संकटाको लागि क्विनवेल ए अमनाराह र लिसिया एल जे मोकाम्बिकले गोल गरेकी हुन् ।
अब आर्मीले भोलि आइतबार हुने फाइनल खेलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबको सामना गर्नेछ । प्रतियोगिताको विजेताले नगद ५ लाख रुपैयाँ र उपविजेताले ३ लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
