एजेन्सी । युएईएफए च्याम्पियन्स लिग अन्तर्गत भएको रोमाञ्चक सेमिफाइनल खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन(पीएसजी) विजयी भएको छ । मंगलबार राति भएको पहिलो सेमिफाइनलको पहिलो लेगमा बायर्न म्युनिखलाई ५-४ गोलले हराउँदै पीएसजीले अग्रता लिएको हो ।
पार्क देस प्रिन्सेसमा भएको खेलमा पीएसजीलाई जित दिलाउन ख्विचा क्भारात्स्खेलिया र ओसुमाने डेम्बेलेले दुई/दुई गोल गर्दा जाओ नेभेसले एक गोल थपे । बायर्न म्युनिखको लागि ह्यारी केन, मिकेल ओलिसे, डायोट उपामेकानो र लुइस डियाजले समान एक/एक गोल गरे ।
खेलको १७ औँ मिनेटमा केनले गोल गर्दै बायर्नलाई शुरुवाती अग्रता दिलाएका थिए । २४ औँ मिनेटमा क्भारात्स्खेलियाले गोल गर्दै पीएसजीलाई १-१ गोलको बराबरीमा ल्याए । ३३ औँ मिनेटमा नेभेसले गोल गर्दै पीएसजीलाई २-१ गोलको अग्रता दिलाए । ४१ औँ मिनेटमा ओलिसेले पेनाल्टीमा गोल गर्दै बायर्नलाई २-२ गोलको बराबरीमा ल्याएका थिए ।
पहिलो हाफको इन्जुरी समयमा डेम्बेलेले पेनाल्टीमा गोल गर्दै पीएसजीलाई ३-२ गोलको अग्रता दिलाए । ५६ औँ मिनेटमा क्भारात्स्खेलियाले व्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीलाई ४-२ गोलको अग्रता दिलाएका थिए । दुई मिनेटपछि डेम्बेलेले व्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीलाई सहज जिततर्फ अगाडि बढाए ।
६५ औँ मिनेटमा उपामेकानोले गोल गर्दै पाहुना टोलीलाई ५-३ गोलको स्थितिमा ल्याएका थिए । तीन मिनेटपछि डियाजले गोल गर्दै बायर्नलाई खेलमा फर्काउने सङ्केत गरेका थिए । तर बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा पीएसजी ५-४ गोलले विजयी भएको हो ।
अब दुई टोलीबीचको दोस्रो लेग ७ मे मा हुनेछ ।
