काठमाडौं । संयुक्त विद्यार्थी संगठनले राजनीतिक दलसँग सम्बद्ध विद्यार्थी संगठनहरूमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयको विरोधमा त्रिभुवन विश्वविद्यालय परिसरमा मार्चपास गरेको छ ।
घण्टाघरदेखि त्रिभुवन विश्वविद्यालय गेटसम्म उनीहरुले मार्चपास गर्दै विद्यार्थीहरूले सरकारको निर्णयप्रति असन्तुष्टि व्यक्त गरेका छन् । विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउने निर्णय संविधान र लोकतान्त्रिक मूल्य–मान्यताविपरीत हुनुका साथै नागरिक अधिकारमाथिको हस्तक्षेप भएको उनीहरूको बताएका छन् ।
उक्त निर्णय तत्काल फिर्ता गर्नुपर्ने माग विद्यार्थी नेताहरूले गरेका छन् । त्यस्तै आन्दोलनरत विद्यार्थीहरूले बढ्दो महँगी नियन्त्रण गर्न, शैक्षिक संस्थामा सुरक्षा पोष्ट राख्ने निर्णय कार्यान्वयन नगर्न, मेरिटोक्रेसी (योग्यता प्रणाली) लागू गर्न आग्रह गरेका छन् ।
विद्यार्थीलाई यातायातमा दिइँदै आएको ४५ प्रतिशत भाडा छुटलाई यथावत् कायम गर्न र स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्णय पनि फिर्ता लिन माग गरिएको छ ।
