काठमाडौँ । स्वतन्त्र सांसद महावीर पुनले रास्वपा सांसद विश्वराज पोखरेलले शिक्षकलाई गरेको व्यवहारप्रति आपत्ति जनाएका छन् । सांसद पोखरेलले हेडमास्टरले विद्यालय गेटसम्म स्वागत गर्न नआएको भन्दै गरेको व्यवहारप्रति सांसद पुनले आपत्ति जनाउँदै यस्ता सांसदलाई बर्खास्त गर्नुपर्ने बताएका हुन् ।
पुनले सामाजिक संजालमा लेखेका छन्, ‘यिनी कुन पार्टीका हुन् कुन्नी ? म यिनको नेता भएको भए ठाउँको ठाउँ ठहरै बर्खास्त गरेर घर जाने टिकट काटेर पठाउने थिएँ । सांसद भनेको जनताको नोकर हो । एउटा सांसदले आफ्नो क्षेत्रको जनताले अह्राएको काम गर्नु पर्छ । ५ वर्षसम्म आफ्नो समय र बलबुद्धि जनताको काममा लगाउनु पर्छ । बाटोमा स्वागत गरेनन् भनेर उसले दुनियाँले देख्ने र सुन्ने गरेर यति धेरै धाक र रवाफ दिनु हुन्छ ? कि तुरुन्त माफी माग्नु पर्यो कि त सारा जनताले फिर्ता बोलाउनु पर्यो । सांसद पदको बेइज्जत नै गर्यो त ।’
सांसद पोखरेलले शिक्षकलाई गरेको व्यवहारलाई लिएर उनको सर्वत्र आलोचना भइरहेको छ ।
