पोखराका पाँच ठाउँमा प्रहरीकाे ‘स्वीप अपरेसन’

गण्डकी ।  जिल्ला प्रहरी कार्यालय, कास्कीले गएराति पोखराका पाँच ठाउँमा ‘स्वीप अपरेसन’ चलाएको छ । सो अपरेसनका क्रममा अवैध गतिविधि गर्ने १२२ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

रातको समयमा होहल्ला गर्ने, सार्वजनिक शान्ति सुरक्षामा खलल पुर्‍याउने, गाँजालगायत अवैध लागुऔषध सेवन गर्नेलाई नियन्त्रणमा लिइएको कार्यालयका प्रहरी निरीक्षक एवं निमित्त सूचना अधिकारी गणेश पाण्डेले बताए ।

‘पक्राउ परेका मध्ये ८२ जनाले लागुऔषध सेवन गरेको पाइएको छ, केहीको साथमा गाँजासमेत फेला परेको छ’, उनले भने, ‘बैदाम, रामबजार, शिशुवा, बगर र जिल्ला प्रहरी कार्यालय रहेको क्षेत्रमा एकसाथ स्वीप अपरेसन सञ्चालन गरिएको थियो ।’

बैदाम क्षेत्रबाट ३९ जना, राजबजार क्षेत्रबाट ४० जना, शिशुवाबाट २० जना, बगरबाट १२ जना र जिप्रकाआसपासबाट ११ जनालाई पक्राउ गरिएको प्रहरी निरीक्षक पाण्डेले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी युनिटबाट खटिएको टोलीले ‘स्विप अपरेसन’ चलाएको हो । गएराति पक्राउ पर्ने सबै पुरुष र त्यसमध्ये अधिकांश युवा उमेर समूहका रहेको उनको भनाइ छ । केही दिनअघि लेकसाइड क्षेत्रमा पर्यटकलाई दुःख दिने र ठगी गर्ने महिलालाई नियन्त्रणमा लिई कारबाही प्रक्रिया अगाडि बढाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *