काठमाडौं । युएईविरुद्ध भएको दुई खेलको टी-२० सिरिजमा नेपालले बराबरी गरेको छ । मंगलबार बेलुकी सम्पन्न दोस्रो खेलमा युएईलाई आठ विकेटले हराउँदै नेपालले सिरिज १-१ को बराबरी गरेको हो ।
जितको लागि १ सय २९ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १५.५ ओभरमा दुई विकेटको क्षतिमा लक्ष्य भेट्टाएको हो । नेपालको लागि कुशल भुर्तेलले उत्कृष्ट ब्याटिङ गर्दै अर्धसतक बनाए । उनले ५७ बलमा १२ चौका र २ छक्काको मद्दतमा नटआउट ८४ रन बनाए । यस्तै कप्तान दीपेन्द्र सिंह एरीले १७ बलमा ३ चौकाको मद्दतमा नटआउट २३ रन बनाउँदा कुशल मल्ल १९ रनमा आउट भए । डेब्यु खेल खेलेका सन्तोष यादव एक रनमा पभिलियन फर्किए ।
युएईको लागि निलांस केस्वानी र मुहम्मद अर्फानले एक/एक विकेट लिए ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको युएईले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय २८ रन बनाएको थियो । युएईको लागि अक्श्दिप नाथले अर्धसतक बनाए । उनले ४२ बलमा ४ छक्का र ३ चौकाको मद्दतमा ५३ रन बनाए । यस्तै मुहम्म अर्फानले ३२, अदिप उस्मानीले ३० रनको योगदान गर्दा अन्य ब्याट्स्म्यानले दोहोरो अङ्क छुन सकेनन् ।
नेपालको लागि सन्दीप लामिछानेले ४ ओभरमा एक मेडन राख्दै ६ रन दिएर तीन विकेट लिए । यस्तै हेमन्त धामीले दुई विकेट लिँदा नन्दन यादव र शाहब आलमको नाममा एक/एक विकेट रह्यो ।
यसअघि भएको पहिलो खेल मा युएई डकवर्थ लुइस पद्दतिको आधारमा ६ विकेटले विजयी भएको थियो ।
