रोयटर्स । इरानले इजरायल र लेबननबीच जारी युद्धविराम अवधिभर होर्मुज जलडमरु व्यापारिक जहाजका लागि पूर्ण रूपमा खुला रहने घोषणा गरेको छ । शुक्रबार इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले सामाजिक सञ्जालमार्फत युद्धविरामसँगै जलडमरु खुला गरिएको जानकारी दिएका हुन् ।
उनले सबै व्यापारिक जहाजलाई आवतजावत अनुमति दिइएको भएपनि इरानका समुद्री निकायले तोकेको ‘समन्वित मार्ग’ प्रयोग गर्नुपर्ने उल्लेख गरेका छन् । इजरायल र लेबननबीच बिहीबार साँझदेखि लागू हुने गरी १० दिने युद्धविराममा सहमति भएको थियो ।
लेबननमा इजरायलले हिजबुल्लाहविरुद्ध सञ्चालन गरेको सैन्य अभियान अमेरिका र इरानबीचको वार्तामा प्रमुख विवादको विषय बनेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जलडमरु खुला गरिएकोमा इरानलाई धन्यवाद दिएका छन् । तर, तेहरानसँग अन्तिम सहमति नभएसम्म इरानका बन्दरगाहमा अमेरिकी नौसैनिक नाकाबन्दी जारी रहने उनले बताएका छन् ।
घोषणापछि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य ११ प्रतिशतभन्दा बढीले घटेको छ । विश्वको करिब पाँचौँ हिस्सा कच्चा तेल यही जलडमरुमार्फत आपूर्ति हुँदै आएको छ। यो मार्ग बन्द हुँदा इतिहासकै ठूलो तेल आपूर्ति अवरोध देखिएको थियो ।
यसअघि अप्रिल ७ मा ट्रम्पले जलडमरु पूर्ण रूपमा खोल्ने सर्तमा दुई साताको युद्धविराममा सहमति जनाएका थिए। तर, इरानका संसदीय सभामुख मोहम्मद बाघेर घालिबाफले लेबनानमा इजरायलको अभियान जारी रहनु अमेरिकाले सम्झौता उल्लङ्घन गरेको प्रमाण भएको आरोप लगाएका छन् ।
अमेरिका–इरानबीच सर्तमा मतभेद हुँदा जलडमरु प्रायः बन्दजस्तै अवस्थामा थियो र दैनिक केही जहाज मात्र सञ्चालनमा थिए । पछिल्लो समय पाकिस्तानमा भएको वार्ताबाट स्थायी समाधान निस्कन सकेको छैन। ट्रम्पले पुनः यसै सप्ताहन्त दोस्रो चरणको वार्ता हुन सक्ने बताएका छन् ।
