उच्च शिक्षामा लगानी वृद्धिको माग गर्दै ‘भिक्षाम् देही’ अभियान संचालन

काठमाडौं । उच्च शिक्षामा सरकारी लगानी वृद्धि गराउन दबाब दिने उद्देश्यले विद्यार्थीहरुले ‘भिक्षाम् देही’ अभियान सञ्चालन गरेका छन् । नेपाल विद्यार्थी संघ र स्वतन्त्र विद्यार्थी युनियन, त्रिचन्द्र क्याम्पस साथै विश्वविद्यालयका विद्यार्थीहरुको संयुक्त आयोजनामा विद्यार्थीहरुले सडकमा भिक्षा संकलन गर्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।

उनीहरूले उच्च शिक्षामा बजेट अभावका कारण सरकारी क्याम्पसहरूको पूर्वाधार कमजोर बन्दै गएको र गुणस्तरीय शिक्षामा पहुँच सीमित भइरहेको बताएका छन् । हाल राष्ट्रिय शिक्षा क्षेत्रमा कुल बजेटको करिब १० देखि १५ प्रतिशत मात्र विनियोजन हुने गरेको छ । त्यसमध्ये पनि केवल ८ देखि ११ प्रतिशत बजेट उच्च शिक्षामा खर्च हुने गरेको उनीहरूको भनाइ छ ।

विकसित र सुदृढ शिक्षा प्रणाली भएका देशहरूले भने शिक्षा बजेटको करिब ५० प्रतिशतसम्म उच्च शिक्षामा लगानी गर्ने उदाहरण प्रस्तुत गरिएको छ । उनीहरूले उच्च शिक्षालाई सर्वसुलभ, गुणस्तरीय र प्रतिस्पर्धी बनाउन सरकारलाई नीतिगत सुधारसहित पर्याप्त बजेट विनियोजन गर्न आग्रह गरेका छन् ।

त्रिचन्द्रका स्ववियु सभापति गोविन्द कोइरालाले क्याम्पसका थोत्रा भवन, कक्षाकोठा , प्रयोगशाला मर्मत र सुदृढ बनाउन सरकारले ध्यान नदिएकाले अभियान संचालन गरेको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *