काठमाडौँ । नेपाली फिल्म ‘परालको आगो’को ट्रेलर सार्वजनिक भएको छ । निर्माण पक्षले बिहीबार ट्रेलर सार्वजनिक गरेको छ ।
ट्रेलरमा फिल्मका मुख्य पात्र सुहाना थापा र प्रकाश सपुतबीचको घरझगडा देखिन्छ । लक्ष्मण सुनारको निर्देशनमा निर्माण भएको फिल्ममा ग्रामीण परिवेश, पारिवारिक सम्बन्ध र समाजभित्र लुकेका मनोवैज्ञानिक तथा भावनात्मक संघर्षलाई फिल्मले उठान गर्ने अनुमान गरिएको छ ।
फिल्ममा सौगात मल्ल, प्रकाश सपुत, सुहाना थापा, सिर्जना अधिकारी, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने, बाल कलाकार मन्जिला बाँनिया लगायतले अभिनय गरेका छन् ।
हरि ॐ सिने मेकर्स प्रालिको निर्माणमा बनेको फिल्मका निर्माता सुशील पोखरेल हुन्। सुशील देवकोटाले लेखेको फिल्ममा छायाँकार संकल्प भुजेल छन् । गुरुप्रसाद मैनालीको ‘नासो’ कथा संग्रहमा समावेश कथा ‘परालको आगो’ नाममा ४५ वर्षअघि प्रताप सुब्बाले पनि फिल्म निर्देशन गरेका थिए।
