-ऋषि कट्टेल ।
अचेल एमाले र ओलीबारे कुरा गरेन भने नेपालको राजनीतिको चक्कानै नगुड्ने जस्तो भयो । नेपाली कम्युनिष्ट पार्टी बनाएर माधव-दाहालले देशभर सन्देश सभाहरु गरे त्यहाँ शीर्षदेखि कनिष्टसम्मका भाषणहरुमा झण्डै ७ ५प्रतिशत ओलीकै कुरा हुने गर्छ । नेपालको आमसंचारजगत ओलीमय छ । जेनजी भनिएकाहरु पनि ओलीबाहेक अरु देख्दैनन् । वर्तमान दलाल व्यवस्था भित्र पनि ओली एक्लै प्रतिपक्ष देखिन्छन् । काँग्रेसको एउटा पक्षबाहेक अरु सबै ओलीविरुद्ध एक छन् । हुँदाहुँदा एमालेभित्र पनि ओलीविरुद्ध एउटा पक्ष तयार भएको छ । विद्या, ईश्वर, सुरेन्द्र, योगेशहरु त खुलैरुपमा २३ को घटनाको मुख्य दोषी ओली हो भन्न थालेका छन् । बयान दिन जानु पर्दछ । घुमाउरो पारामा ओलीलाई अपराधी करार गरी जेल हालिदिन सुशीला सरकारलाई हारगुहार गरेको देखिन्छ । यसरी ओली अहिले सबै पक्षको निशानामा परेका छन् । त्यसकारण ओली आजको नेपालको राजनीतिको केन्द्रीय पात्र बनेका छन् । अर्थात् ओलीको समर्थन वा विरोधमा संसदीय राजनीति चलिरहेको छ । त्यसैले यसबारे टिप्पणी गर्नू सान्दर्भिक भयो ।
ओलीको राजनीतिक पृष्ठभूमि सार्वजनिक नै छ । नेपालको कम्युनिष्ट आन्दोलनवाट विकास भएको ओली हाल यो आन्दोलनको विसर्जनवादी धाराको नेतृत्व गर्दछन् । अर्थात् कम्युनिष्ट आन्दोलनबाट दाहाल माधवहरु जस्तै प्रतिक्रियावादमा पतन भएका पात्र हुन् । दलाल संसदीय व्यवस्थाका हिमायती हुन् । अहिले यिनको राजनीतिक परिचय यही हो ।
जहाँसम्म यो व्यवस्था भित्र यिनको भूमिकाको प्रश्न छ यिनी अहिले(नेसेसिटी इभिल ) आवश्यक खरावको रुपामा छन् । यिनले संसद विघटन गरिदिएर दलाल संसदीय व्यवस्थाको विरोधमा जनमत निर्माण गर्न सहगोग गरे । ओलीकै कारण संसदवादीहरु अराजनीतिक गठबन्धन गर्न बाध्य भए र काँग्रेस, माओवादी केन्द्र स्वयं एमालेहरुको राजनीतक चरित्र निर्वस्त्र बन्यो । निर्वाचनपछि दाहाललाई प्रधानमन्त्री बनाएर यो व्यवस्थाको चरित्र नङग्याइदिए र दाहालको औसरवाद र सत्तामोहको पोल खोलीदिए । पछिल्लो समय काँग्रेससँग गठबन्धन गरेर कथित बहुमतको सरकार र अल्पमतको विपक्ष भन्ने मान्यताको उपहास गराइदिए । यसरी यो दलालहरुको व्यवस्थाको कुरुप चरित्रको पर्दाफास गर्न ओलीको भूमिका र योगदानलाई मान्नै पर्दछ ।
दोस्रो कुरा ओलीले देशहितको पक्षमा खासगरी भारतीय विस्तारवादको हस्तक्षेपको विरुद्ध भने सकारात्मक काम गरेका छन् । नाकावन्दीको मुकाविला गरे, चीनसँग व्यापार पारवाहन सन्धी गरे, चुच्चे नक्सा सार्वजनिक गरेर र पछिल्लो समय बीआरआई सम्झौता गरेर इण्डो अमेरिकी हस्तक्षेपलाई चुनौती दिए । यसैकारण जेनजीको नामवाट उनी सत्ताच्यूत हुन् । जेनजी आन्दोलनको नामवाट इण्डो अमेरिकी शक्तिहरु जसरी नेपालको आन्तरिक मामलामा हस्तक्षेप बढाइरहेका छन्, ओली एक्लै त्यसको प्रतिरोधमा उभिएको देखिन्छ । सारमा ओली अहिले संसदवादी सत्ताभित्रको एक्लो प्रतिपक्ष देखिएको छ । ओलीकै कारण दलाल व्यवस्थामा अन्तरविरोध विकास भइरहेछ । त्यसकारण अन्तरविरोधको प्रधान पक्ष वर्तमान सत्ता रहेको अवस्थामा ओली आवश्यक खराबपात्र (नेसेसिटी इभिल )को रुपमा देखिन्छन् ।
