जेलिन्स्कीद्वारा शान्ति योजना संशोधनको स्वागत

बीबीसी । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलिन्स्कीले रूससँगको युद्ध अन्त्यका लागि तयार गरिएको २८ बुँदे शान्ति योजनामा भएका प्रस्तावित संशोधनहरूको स्वागत गरेका छन्।

रूसका हितमा झुकाव देखिने केही बुँदालाई अस्वीकारपछि युरोपेली साझेदारहरूले योजनाको संशोधित संस्करण अघि सारेका हुन् । जेलिन्स्कीले टेलिग्राममार्फत योजना ‘अब कार्यान्वयनयोग्य बन्न सक्ने’ टिप्पणी गर्दै ‘धेरै सही विषय समेटिएको’ बताए ।

यस्तै मंगलबार बिहानै कीभका मेयर भिटाली क्लिच्कोले रूसी क्षेप्यास्त्र र ड्रोन आक्रमणका कारण राजधानीस्थित आवासीय भवनमा क्षति पुग्नुका साथै विद्युत् र खानेपानी सेवा अवरुद्ध भएको जनाएका छन् । ऊर्जा मन्त्रालयले पनि ऊर्जा पूर्वाधारमाथि ‘वृहद् संयुक्त शत्रु आक्रमण’ भएको पुष्टि गरेको छ।

अमेरिकी तथा युक्रेनी अधिकारीबीच आइतबार जिनेभामा उक्त योजनाबारे छलफल भएको थियो। अक्टोबरमा अमेरिकी र रूसी अधिकारीद्वारा तयार गरिएको मूल प्रतिवेदनले कीभ र युरोपेली मित्रराष्ट्रबीच चासो उत्पन्न गरेको थियो। जिनेभाको भेटमा भने रूसी प्रतिनिधिमण्डल सहभागी थिएन।

क्रेमलिनले सोमबार प्रस्तावित संशोधनलाई ‘पूर्ण रूपमा अनिर्माणात्मक’ भन्दै अस्वीकार गरेको छ । यता, ह्वाइट हाउस प्रवक्ता क्यारोलाइन लेभिटले ट्रम्प प्रशासनले युद्ध अन्त्यका प्रयासमा रूसलाई पक्षपाती समर्थन गरेको दाबी असत्य भएको बताइन्। उनले अमेरिकाले ‘दुवै पक्षसँग समान रूपमा संलग्न’ रहेर समाधान खोजिरहेको उल्लेख गरिन् ।

राष्ट्रपति डोनाल्ड ट्रम्प युद्ध अन्त्यका लागि सम्भावित कार्यक्रमबारे ‘आशावादी’ रहेको उनको भनाइ छ। जेनेभाको वार्ता सकिएपछि ट्रम्पले सामाजिक सञ्जालमा ‘केही सकारात्मक संकेत देखिन सक्ने’ उल्लेख गरे पनि ‘देखेपछि मात्र विश्वास गर्न’ आग्रह गरे।

वार्ता प्रारम्भ गर्दा अमेरिकी विदेशमन्त्री मार्को रुबियोले ट्रम्पसमर्थित २८ बुँदे योजना क्रेमलिनद्वारा लेखिएको भन्ने दाबी असत्य भएको स्पष्ट गर्नुपरेको थियो, किनकी योजनाका केही बुँदा मास्कोका दीर्घकालीन मागअनुकूल देखिन्थे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *