हाम्रो सहकार्यले नेपाल राष्ट्रले जित्नु पर्छ, नेपाली जनताले जित्नुपर्छः सचिव भट्टराई

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टी फर्कन लागेकाहरूलाई सुझाव दिँदै अमुक नेतालाई जिताउनै पर्ने पूर्वशर्त स्वीकार गर्ने या नगर्ने यो विवेकको विषय भएको बताएका छन् ।

एकीकृत समाजवादीबाट रामकुमारी झाक्रीसहितको पंक्ति एमाले फर्कने तयारी गरिरहेका बेला बुधबार सामाजिक संजालमार्फत सचिव भट्टराईले यस्तो बताएका हुन् ।

उनले भने, ‘नीति र नेतृत्व स्वीकार गर्नु पर्ने शर्त पनि सुनियो। नीति र नेतृत्वलाई अस्वीकार गरेर सहकार्य कसरी हुन्छ र? यो भनिरहनु पर्ने विषय नै होइन। जबज हाम्रो सिद्धान्त हो, नीति हो। तपाईं हाम्रो साझा प्रयत्नले यसलाई थप परिष्कृत र समृद्ध बनाउने हो। प्रतिस्पर्धाबाट छानिएको नेतृत्व हाम्रो एकताको आधार हो ।’

उनले पार्टीको ११ औं महाधिवेशनको मिति घोषित रहेको बताउँदै महाधिवेशनपूर्व नीति र नेतृत्वको बहस गर्ने वैधानिक अभ्यास पाँचौ महाधिवेशनबाटै स्थापित गरिएको बताएका छन् ।

उनले भनेका छन्, ‘यो पार्टी जीवनको लोकतान्त्रिकरणको महत्त्वपूर्ण आयाम पनि हो। अमुक नेतालाई जिताउनै पर्ने पूर्वशर्त स्वीकार गर्ने या नगर्ने यो यहाँहरूकै विवेकको विषय हो। तर एमालेमा समाहित हुनु कुनै शर्तभन्दा पनि माथिको महत्वको सवाल हो। एमालेमा तपाईहरूको सहभागिताबाट कुन नेतालाई फाइदा हुन्छ या हुन्न ? कुन नेताले जित्छ या हार्छ? यो गौण हो। हामी चाहन्छौं– हाम्रो सहकार्यले नेपाल राष्ट्रले जित्नु पर्छ, नेपाली जनताले जित्नु पर्छ र नेकपा एमालेले जित्नु पर्छ। त्यसका खातिर हामी हजार पटक हार्न तयार छौं ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *