नारायण पौडेल ।
प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले रुँदै राजीनामा गरे, गिरिजाप्रसादसँग आजित भएर । तर, किसुनजी र गिरिजाप्रसाद व्यक्तिगत आरोपप्रत्यारोपमा लागेनन् । कृष्णप्रसाद कांग्रेस छाडेर आध्यात्ममा लागे । तर, कांग्रेसले आजपर्यन्त कृष्णप्रसादलाई छाडेको छैन । देउवाले पार्टी फुटाए । दरबारसँग मिलेर गिरिजाप्रसाद कोइरालालाई घेराबन्दी गरे । तर गिरिजाप्रसादले देउवाको नाम लिँदा कूल्ला गरेनन् । प्रतिक्रियाबादी, दलाल वा गद्दार करार गरेनन् । देउवाले रगदपिच्छे हुने गरी जेन्जीका नाममा गोदाइ खाए । हाहु र विदेशी षड्यन्त्र भनेर ओभानिन खोजेनन् । पारिवारिक वेदना कहँदै सक्रिय राजनीतिबाट बिदा लिन लागेको सन्देश दिए ।
बामदेवले पार्टी फुटाउँदा एमालेले बामदेवलाई नम्बर वान भ्रष्टाचारी घोषणा गर्यो, खुलामञ्चबाटै । फेरि एकाध वर्षमा उनलाई भित्राएनमात्र, शक्तिशाली मन्त्री बनायो । नम्बर वान भ्रष्टलाई गृह मन्त्री ! माधव नेपालको नाम सुन्दा ओलीलाई वान्ता आयो । ओलीलाई माधव नेपालले सहिदपत्नी ताक्नेहरुको नेता करार गरिदिए । बाबुरामले प्रचण्डलाई युद्धकालीन हतियार तस्करी गर्न लागेको, बुढीगण्डकीमा अर्बौं झ्वाम पारेको आरोप लगाए । प्रचण्डहरुले बाबुरामलाई भारतपरस्तको आरोप लगाए । स्वार्थ मिलेपछि बाबुरामले प्रचण्डलाई राष्ट्रिय आवश्यकता भन्दै आफ्नो निर्वाचन क्षेत्र छाडे । प्रचण्डले बाबुरामको विद्धता र क्रान्तिकारी चरित्रको महिमागान गरे । बिप्लव, बादल, पम्फा आदि इत्यादीले प्रचण्डमा भंयकर विचलन देखे, प्रचण्डमाथि बम प्रहार गरे । फेरि के भयो, हुँदैछ भनिरहनै परेन ।
ओली सार्वजनिकरुपमै बिलौना गर्थे– राष्ट्रपति विद्या भण्डारीलाई संचारमाध्यमले तिमी भनेर अपमान गरे । ओली भण्डारीलाई देशको सच्चा र सफल अविभावक कहन्थे । राजनीतिक असमझदारी बढेपछि ओलीका लागि बिद्या असक्षम मात्र रहिनन्, लालगेडी जस्ति निष्प्रभावी भइन् । अहिले फेरि प्रभाकर र प्रचण्ड, माधव नेपाल र झलनाथ पक्षबीच जुहारी छ । आरोप प्रत्यारोप जारी छ । फेरि कुन दिन ‘क्रान्तिकारी र देशभक्तका’ बीच एकता भन्ने हुन टुंगो छैन । कांग्रेसबाट कम्युनिष्टहरुले संसदीय अभ्यास सिके । सेटिङ मिलाएर सुइकाउन सिके । नकारात्मक कुरा सब सिके । तर, सिक्न सकेनन्, राजनीति मर्यादा र व्यक्ति सम्मान !
