काठमाडौँ । काठमाडौँको महाराजगञ्जमा शुक्रबार साँझ भएको सवारी दुर्घटनामा ईभी माइक्रो चालकको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।
प्रहरीका अनुसार साँझ करिब ७ः१५ बजे बसुन्धाराबाट चाबहिलतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ज ०८१४ नम्बरको ईभी माइक्रोले अगाडि गुडिरहेका सवारीसाधनलाई पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको हो।
दुर्घटनामा माइक्रो चालक लम्जुङ सिद्धी गाउँपालिका–५ घर भई हाल काठमाडौंको कपन बस्दै आएका ५६ वर्षीय रामकृष्ण हवाल गम्भीर घाइते भएका थिए। उपचारका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल लगिए पनि चिकित्सकले राति ८ः१० बजे मृत घोषणा गरेका थिए।
दुर्घटनामा स्कुटी चालक ३७ वर्षीय सरोज ढुंगाना, उनकी श्रीमती बिनिता ढकाल, मोटरसाइकल चालक सूर्य मगर, मोटरसाइकलमा पछाडि सवार ज्ञानबहादुर सुनुवार, बसमा सवार गणेशबहादुर शाही तथा ट्याक्सीमा सवार पूर्ण गिरी घाइते भएका छन्।
घाइतेमध्ये अधिकांशको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। उनीहरूको शिक्षण अस्पताल र मेट्रो अस्पतालमा उपचार भइरहेको छ।
दुर्घटनामा दुई ईभी माइक्रो, दुई ट्याक्सी, एक भाडाको बस, नेपाल विद्युत् प्राधिकरणको गाडी, एक ईभी स्कुटी तथा तीन मोटरसाइकलसहित १० वटा सवारीसाधनमा क्षति पुगेको प्रहरीले जनाएको छ। प्रहरीले दुर्घटनाको कारण खुल्न बाँकी रहेको भन्दै घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।
