सधैं खरानीमात्रै बनाउने कि आफ्नो कान पनि छाम्ने ?

-नारायण गाउँले ।

हामी नामैले वीर गोर्खाली ! नलडी वीरता देखिन्न । संसार आफ्नै गतिमा छ, हामीसँग लडिबस्न फुर्सत छैन । एकलव्यले आफैं पढेजस्तो हामी आफैं लड्ने हो ! लड्न हिरो चाहिन्छ तर त्यसभन्दा बढी शत्रु चाहिन्छ । दुबै खोज्ने, नभेटिए निर्माण गर्ने हो । शत्रु जति ठूलो हुन्छ, लडाईँको रस त्यति नै स्वादिलो हुन्छ । ईगोको भोजन दिगो हुन्छ । हिरो ठूलो बनाएर लडाईँ ठूलो हुन्न । शत्रु ठूलो हुनुपर्छ ।

राणाशासनसित लडियो । पञ्चायतसँग तीस वर्ष लडि़यो । शत्रु सजिलै भेटिने स्थिति थियो । त्यसपछि प्रजातन्त्र आयो । अब शत्रु को त ? देशमा ठूलो र मजा आउने शत्रु अर्को भेटिएन । भारतले त्यो ठाउँ पायो । भारतविरुद्ध सुरुङ युद्ध लडियो । त्यो युद्ध पनि सकियो । देशमा बचेखुचेको संवैधानिक राजतन्त्र थियो । देखिने तर नसुनिने गरी राखिएका राजा थिए । तर ती पनि बोल्न थाले । हामीलाई शत्रु भेटियो । राजाभन्दा ठूलो शत्रु के भेटिन्छ र ? फेरि लडि़यो । देश हिरै हिरोले भरियो । वीरताका गीतले गुञ्जियो ।
हामीले ल्याएको नयाँ व्यवस्था नै सबै बराबरी भन्ने खालको थियो । बराबरबीच को शत्रु, को हिरो ? परिणाममा भने सबै बराबर देखिएनन् । दुब्लो दुब्लै रह्यो, मोटाउन सकेन ।

खुद्रा लडाईँले शान्त हुने वीरता पनि होइन हाम्रो । केही वर्ष हाम्रो युयुत्सु मन त्यसै उम्लिरह्यो । हामीभित्र एउटा छटपटी पाकिरह्यो । आखिर हिजो हिरो बनेका दलहरू नै ठूला र मोटा देखिए । व्यवस्था नै दलीय भएपछि दल त अकाट्य नै हुने भए । तिनैलाई शत्रु बनाएर लड्ने हो भने लडाईँ पनि लामो चल्ने र मजा आउने भयो । यसले त अनन्तसम्म हाम्रो युद्धको इच्छालाई परिपूर्ति गर्ने पोटेन्सियल राख्थ्यो । ठूलो तेल खानी भेटिएजस्तो भयो । पृष्ठभूमि तिनै दलले निर्माण गरे, बाँकी हामी छँदै थियौं । हाम्रो भोकलाई भोजन प्राप्त भयो । भेटे जति खरानी बनायौं ।

तर, यो लडाईँ पनि सोचे जति लामो चलेन । यसले दिनपर्ने जति मजा नदिई तुहियो । अस्थायी नै सही, हाम्रा प्रधान शत्रु भनिएका त्रिमूर्ति ढले । मोटा दल पाखा लागे । फेरि एकाएक शत्रु गायब भयो । शत्रु हुँदा पो हिरो । युद्ध हुँदा पो सेनापति । युद्ध नै सकिएपछि हिरो पनि ढले । ला, अब को सित लड्ने ? हाम्रो वीरता कहाँ प्रयोग गर्ने ? मनभरि गाली छ तर पोख्ने ठाउँ छैन ।

वीरता भनेको लड्नुमात्रै होइन, निर्माण गर्नु पनि हो भन्ने त बुझ्न बाँकी नै छ । त्यो बुझेको दिन, व्यवस्थापन पनि वीरता हो भन्ने जानेको दिन न हिरो चाहिन्छ न शत्रु । न लडाईँ चाहिन्छ न जित । अव्यवस्था हामीबाटै सुरु हुन्छ भन्ने मनन गरेको दिन ईंटाको भवनसँग केको रिस ? हामीले त जहिल्यै भविष्यमा भत्काउन केही न केही बाँकी होस् भनेर मात्रै अलिअलि बनाएका छौं । बनाउनकै लागि बनाउने सोच आउन बाँकी छ । विश्वमा युद्धशास्त्र बदलियो, हाम्रो सोच पुत्ला भए पनि बनाउने र जलाउनेमै सीमित छ ।

अहिलेको गुम्साहट, सफोकेशन, अधैर्य, छटपटी र निराशा यही शत्रु हराउनु, लडाईँको दाउरा सकिनु या नयाँ हिरो नभेटिनु पो हो कि ? विकल्प थोरै छ । थोरै विकल्पबाट हामीले शत्रु र हिरो चयन गर्नुछ । ’कांग्रेस, एमाले, प्रचण्ड, रवि, बालेन, अमेरिका, भारत र पूर्वराजा’मध्येबाट दुईवटा पुत्ला छान्न छ ।
हामी आफैं कान छाम्दैनौँ । कान बटारेर सुल्टो बाटो हिँडाउने कोही आउँदैन । हामी यस्तै त हो नि ब्रो !

Leave a Reply

Your email address will not be published. Required fields are marked *