एजेन्सी । घरेलु टोली भारतले आईसीसी महिला विश्वकपको उपाधि जितेको छ । आइतबार राति भएको फाइनल खेलमा दक्षिण अफ्रिकालाई ५२ रनले हराउँदै भारतले पहिलोपटक महिला विश्वकपको उपाधि जितेको हो ।
जितको लागि २ सय ९९ रनको विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ४५.३ ओभरमा अलआउट हुँदै २ सय ४६ रनमात्र बनाउन सक्यो । दक्षिण अफ्रिकाको लागि लौरा वोल्भार्टले सतक पूरा गरिन् । उनले ९८ बलमा ११ चौका र एक छक्कासहित १ सय १ रन बनाइन् । यस्तै एन्नेरी डेर्कसेनले ३५, सुन लुसले २५ ताज्मिं ब्रिट्सले २३, नाडीने डे क्लेर्कले १८ र सिनालो जाफ्ताले १६ रन बनाएपनि जितको लागि पर्याप्त रहेन ।
भारतको लागि दिप्ती शर्माले पाँच विकेट लिँदा शफाली वर्माले दुई र श्री चरानीले एक विकेट लिए ।
यसअघि मुम्बईमा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा २ सय ९८ रन बनाएको थियो । भारतको लागि शफाली वर्माले सर्वाधिक ८७ रन बनाइन् । उनले ७८ बलमा ७ चौका र दुई छक्का प्रहार गरिन् । यस्तै दिप्ती शर्माले ५८, स्मृति मन्धनाले ४५, रिचा घोषले ३४, जेमिमा रोद्रिगेजले २४, कप्तान मर्मंप्रित कौरले २० र अमंजोत कौरले १२ रन बनाइन् ।
दक्षिण अफ्रिकाको लागि अयाबोन्गा खाकाले तीन विकेट लिँदा नोन्कुलुलेको, नादिने दे क्लेर्क र चलो ट्रयानले समान एक/एक विकेट लिए ।
