युएईमाथि नेपालको रोमाञ्चक जित

काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया एण्ड इस्ट एसिया प्रशान्त छनोटको सुपर सिक्स अन्तर्गत भएको खेलमा नेपालले रोमाञ्चक जित निकालेको छ । आइतबार बेलुकी सम्पन्न सुपर सिक्सको खेलमा नेपालले चिरप्रतिद्वन्द्वी युएईलाई एक रनले पराजित गरेको हो ।

जितको लागि १ सय ४१ रनको विजयी लक्ष्य पछ्याएको युएईले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ३९ रनमात्र बनाउन सक्यो । एकसमय  ११.२ ओभरमा ८३/२ को सहज स्थितिमा रहेको युएईले लगातार विकेट गुमाउँदा हार बेहोर्न पुगेको हो । अन्तिम तीन बलमा जितको लागि तीन रन चाहिएको अवस्थामा युएईले तीन विकेट गुमाउँदै एक रनमात्र जोड्न सक्यो ।

यसअघि युएईको लागि आलिशान शराफुले ५८, ध्रुव पाराषरले ३२, जोनात्थान फिगीले १९ र जाहिद अलीले ११ रन बनाएका थिए ।

नेपालको लागि ‘म्यान अफ दि म्याच’ चुनिएका दिपेन्द्र सिंह एरीले ४ ओभरमा २२ रन दिएर तीन विकेट लिए । यस्तै सोमपाल कामी, गुलसन झा र सन्दीप लामिछानेले समान एक/एक विकेट लिए ।

यसअघि अमेरात क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ४० रन बनाएको थियो । नेपालको लागी आसिफ शेखले अर्धसतक बनाए । उनले ४७ बलमा ४  चौका र एक छक्काको मद्दतमा ५१ रन बनाए । यसअघि कुशल भुर्तेल २८, कप्तान रोहित पौडेल २०, गुलसन झा १४ र कुशल मल्ल १० रन बनाउँदै आउट भएका थिए । यस्तै सोमपाल कामीले ६ र सन्दीप जोराले नटआउट ४ रन बनाए ।

युएईको लागि जुनाइद सिद्दिकी, जहिद अली, हैदिर अली, मुहम्मद रोहिद, हर्षित कौशिक र ध्रुव पाराषरले एक/एक विकेट लिएका छन् ।

जितसँगै नेपालले सुपर सिक्समा दुई खेलबाट ४ अंक जोडेको छ । समान खेलबाट युएईको दुई अंक जोडेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *