अभ्यास खेलमा आज नेपाल र कतार भिड्दै

काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया/प्रशान्त छनोट अन्तर्गत आज हुने दोस्रो अभ्यास खेलमा नेपाल र कतार भिड्दै छन् । ओमान क्रिकेट एकेडेमीमा हुने खेल नेपाली समय अनुसार दिउँसो ४:१५ बजे शुरू हुनेछ ।

आज नेपाल लगातार दोस्रो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिनेछ । यसअघि आइतबार भएको पहिलो अभ्यास खेलमा नेपालले ओमानलाई ६ विकेटले पराजित गरेको थियो ।

नेपाली टोलीमा कप्तान रोहित पौडेलसहित दीपेन्द्र सिंह एरी(उपकप्तान), सन्दीप लामिछाने, आसिफ शेख, कुशल भुर्तेल, सोमपाल कामी, करण केसी, कुशल मल्ल, नन्दन यादव, मोहम्मद आदील अलाम, सन्दीप जोरा, आरिफ शेख, ललित राजवंशी, गुलसन झा र लोकेश बम रहेका छन् ।

ओमानमा हुने विश्वकप छनोटमा आयोजक ओमानसँगै, पपुवा न्युगिनी, मलेसिया, कतार, युएई, जापान, कुवेत र सामोआले आफ्नो दाबेदारी प्रस्तुत गर्दैछन् । छनोटमा सहभागी ९ टोलीलाई तीन/तीन टोलीको तीन समूहमा  विभाजन गरिएको छ ।

तीन समूहका शीर्ष दुई टोली सुपर सिक्समा पुग्नेछन् । यस्तै सिंगल राउण्ड रोबिन आधारमा हुने सुपर सिक्सको शीर्ष तीन स्थानमा रहने टोलीले आगामी वर्ष भारत र श्रीलंका हुने टी-२० विश्वकपमा आफ्नो स्थान सुरक्षित गर्नेछन् । समूह ‘बी’मा रहेको नेपालले पहिलो खेल ८ अक्टोबरमा कुवेतसँग खेल्नेछ भने दोस्रो खेल अक्टोबर १० मा जापानसँग खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *