कृषकको बाली बीमा गर्दै मनहरी गाउँपालिका

हेटौँडा । मकवानपुरको मनहरी गाउँपालिकाले किसानको बाली बीमा गर्न सुरुवात गरेको छ । बुधबार मनहरी गाउँपालिकाले ७ नम्बर वडाबाट बाली बीमा कार्यक्रम सुरु गरिएको हो ।

मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेती, उपाध्यक्ष सीता पुलामी मगरलगायतको उपस्थितिमा बुधबार महनरी–७ का सेतेलाल जिम्बाको १९ कट्टा खेतमा लगाइएको धान बालीको बीमा गरी कार्यक्रम सुरु गरिएको हो । अहिले धानबालीको सिजन भएकाले धानबालीको बीमा गर्न सुरु गरिएको र सिजनअनुसारका सबै अन्नबाली र तरकारी बालीसमेतको बीमा गरिने गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीले जानकारी दिए ।

अन्न बालीमा किरा तथा अन्य रोगको प्रकोपलगायतका कारण अन्न उत्पादन नहुने कारण किसान मर्कामा परिरहेकाले अन्न उत्पादन नभएका कारण किसानलाई हुने हानी नोक्सानीको क्षतिपूर्ति भराउने उद्देश्यले गाउँपालिकाले यश वर्षबाट बाली बीमा कार्यक्रम सुरु गरेको गाउँपालिका अध्यक्ष कालाखेतीले बताए ।

बाली बीमाका लागि गाउँपालिकाले शिखर इन्स्यारेन्ससँग सम्झौता गरी कार्य थालनी गरिएको उनको भनाई छ । धान बाली बीमा गर्न इच्छुक किसानलाई निवेदन दिन गाउँपालिकाले एक हप्ताअघि नै सूचना जारी गरेको थियो । सबै वडा कार्यालयहरूमार्फत बाली बीमा गरिने गाउँपालिकाले जनाएको छ ।

बाली बीमा गर्दा कुल बीमांक रकमको ८० प्रतिशत रकम गाउँपालिकामार्फत संघीय सरकारले अनुदान दिने व्यवस्था छ भने २० प्रतिशत रकम किसानले बेहोर्नुपर्नेछ । बाली बीमाको २० प्रतिशत बीमांक रकमसमेत तिर्न नसक्ने विपन्न किसानको बीमांक भुक्तानी गाउँपालिकाले गरिदिने गरी बजेट छुट्याइएको अध्यक्ष कालाखेतीले बताए ।

बाली बीमा सुरु भएसँगै अब अन्नबालीमा रोग किराको प्रकोप साथै वन्यजन्तुबाट गर्ने क्षतिबापत किसानले क्षतिपूर्ति पाउने भएकाले किसानले राहत अनुभूति गर्ने उनले विश्वास व्यक्त गरे । आगामी दिनमा अन्य अन्नबाली र तरकारी बीमाको कार्यक्रमलाई पनि अघि बढाइने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *