सी-सरिफ भेटवार्ता मध्यपूर्व शान्ति प्रयासमा केन्द्रित

बेइजिङ। मध्यपूर्वमा जारी तनाव अन्त्यका लागि कूटनीतिक पहल तीव्र भइरहेका बेला चिनियाँ राष्ट्रपति सी जिनपिङले सोमबार बेइजिङमा पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफ सँग उच्चस्तरीय भेटवार्ता गरेका छन्।

अमेरिका–इरान सम्बन्ध, क्षेत्रीय स्थिरता तथा शान्ति स्थापनाका प्रयासबारे अन्तर्राष्ट्रिय सक्रियता बढिरहेका समयमा भएको उक्त भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार राष्ट्रपति सीसँगको भेटअघि प्रधानमन्त्री सरिफले चीनका प्रधानमन्त्री ली किआङ सँग पनि छुट्टै वार्ता गर्नुभएको थियो । यद्यपि, छलफलका विस्तृत विषयवस्तुबारे चिनियाँ पक्षले तत्काल सार्वजनिक जानकारी दिएको छैन ।

पाकिस्तानी सरकारी टेलिभिजन पिटिभीका अनुसार पाकिस्तानका सेना प्रमुख असीम मुनीर पनि प्रधानमन्त्री सरिफसँग चीन भ्रमणमा सहभागी भएका छन्। अमेरिका–इरान संवाद प्रक्रियामा पाकिस्तानको भूमिका सक्रिय बन्दै गएको सन्दर्भमा मुनीरको सहभागितालाई विशेष महत्त्वका साथ हेरिएको छ ।

गत महिना पाकिस्तानले अमेरिका र इरानबीच प्रत्यक्ष वार्ताको आयोजना गर्दै आफूलाई सम्भावित मध्यस्थकर्ताका रूपमा प्रस्तुत गरेको थियो । तर उक्त पहल दीर्घकालीन सहमतिमा परिणत हुन सकेन ।

यसबीच चीनले पनि मध्यपूर्वमा संयमित तर सक्रिय कूटनीतिक भूमिका निर्वाह गर्दै आएको छ । बेइजिङले टेलिफोन संवाद तथा खाडी क्षेत्रका विभिन्न मुलुकसँगको सम्पर्कमार्फत क्षेत्रीय तनाव कम गर्ने प्रयास जारी राखेको जनाएको छ ।

बेइजिङमा भएको भेटका क्रममा प्रधानमन्त्री सरिफले विश्व अहिले संवेदनशील मोडबाट गुज्रिरहेको बताएको पिटिभीले उल्लेख गरेको छ । उनले अमेरिका–इरान सम्बन्ध सुधारका लागि पाकिस्तानले गम्भीर मध्यस्थकारी भूमिका निर्वाह गरेको दाबी गरेका थिए ।

‘कुराहरू सही दिशातर्फ अघि बढिरहेका छन् र शान्ति प्रवर्द्धनमा चीनले दिएको समर्थनप्रति म आभारी छु,’सरिफको भनाइ उदृत गर्दै पिटिभीले जनाएको छ ।

प्रधानमन्त्री सरिफले शनिबार पूर्वी चीनको झेजियाङ प्रान्तस्थित हाङ्झोउबाट आफ्नो चारदिने औपचारिक चीन भ्रमण सुरु गरेका हुन् । त्यसअघि पाकिस्तानका गृहमन्त्री मोहसिन नकवी र सेना प्रमुख मुनीरले तेहरान भ्रमण गरी इरानी नेतृत्वसँग पनि छलफल गरेका थिए ।

अप्रिलमा मध्यपूर्व तनाव चर्किएपछि अमेरिका र इरानबीच भएको प्रत्यक्ष वार्ताको आयोजना पाकिस्तानले गरेको थियो । उक्त वार्तामा सेना प्रमुख मुनीर सक्रिय रूपमा सहभागी हुनुभएको बताइएको छ । तर इरानले अमेरिकामाथि ‘अत्यधिक माग’ राखेको आरोप लगाएपछि वार्ता निष्कर्षविहीन बनेको थियो ।

त्यसपछि चीन र पाकिस्तानले क्षेत्रीय शान्ति तथा स्थिरताका लागि आपसी समन्वय बढाउने संकेत दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *