एजेन्सी । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन(पीएसजी) फिफा क्लब विश्वकपको फाइनलमा पुगेको छ । बुधबार राति भएको दोस्रो सेमिफाइनल खेलमा रियल म्याड्रिडलाई ४-० गोलले हराउँदै पीएसजीले फाइनलमा चेल्सीसँगको भेट पक्का गरेको हो ।
मेट लाइफ स्टेडियममा भएको खेलमा पीएसजीलाई जित दिलाउन फाबियन रुइजले दुई तथा ओसुमाने डेम्बेले र गोन्सालो रामोसले एक/एक गोल गरे । खेलको छैटौं मिनेटमा डेम्बेलेको पासमा रुइजले गोल गर्दै पीएसजीलाई शुरुवाती अग्रता दिलाएका थिए । तीन मिनेटपछि डेम्बेलेले गोल गर्दै पीएसजीको अग्रता दोब्बर बनाए ।
२४ औँ मिनेटमा हकिमीको पासमा रुइजले व्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीलाई पहिलो हाफमा ३-० गोलको अग्रता दिलाए । यस्तै ८७ औँ मिनेटमा बार्कोलाको पासमा रामोसले गोल गर्दै पीएसजीलाई ४-० गोलको जित दिलाएका हुन् ।
अब पीएसजीले १३ जुनमा हुने फाइनल खेलमा चेल्सीको सामना गर्नेछ । चेल्सीले पहिलो सेमिफाइनल खेलमा फ्लुमिनेन्सेलाई २-० गोलले पराजित गरेको थियो ।
