एजेन्सी । इंग्लिस क्लब चेल्सी फिफा क्लब विश्वकपको फाइनलमा पुगेको छ । मंगलबार राति भएको पहिलो सेमिफाइनल खेलमा फ्लुमिनेन्सेलाई २-० गोलले हराउँदै चेल्सीले फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो ।
मेटलाइफ स्टेडियममा भएको खेलमा चेल्सीलाई जित दिलाउन जोए पेड्रोले दुई गोल गरे । खेलको १८ औँ मिनेटमा पेड्रोले गोल गर्दै चेल्सीलाई शुरुवाती अग्रता दिलाएका थिए । ५६ औँ मिनेटमा पेड्रोले व्यक्तिगत दोस्रो गोल गर्दै चेल्सीको अग्रता दोब्बर बनाएका थिए ।
बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा चेल्सी २-० गोलले विजयी भएको हो । अब चेल्सीले उपाधिको लागि आज रियल म्याड्रिड र पेरिस सेन्ट जर्मन(पीएसजी)बीच हुने दोस्रो सेमिफाइनल खेलको विजेतासँग खेल्नेछ ।
