म्यानचेस्टर सिटी र इन्टर मिलानलाई स्तब्ध पार्दै अल हिलाल र फ्लुमिनेसे क्लब विश्वकपको क्वाटरफाइनलमा

एजेन्सी । म्यानचेस्टर सिटी र इन्टर मिलान अमेरिकामा जारी फिफा क्लब विश्वकपबाट बाहिरिएका छन् । मंगलबार बिहान भएको खेलमा म्यानचेस्टर सिटीलाई अतिरिक्त समयमा ४-३ गोलले हराउँदै अल हिलाल अन्तिम आठमा पुगेको हो ।

क्याम्पिङ वर्ल्ड स्टेडियममा भएको खेलमा अल हिलाललाई जित दिलाउन मार्को लिएनार्दोले दुई गोल गर्दा माल्कोम र कालिडोउ कोउलिबालीले एक/एक गोल गरे । सिटीको लाग्गी फिल फोडेन, बर्नार्डो सिल्भा र इर्लिंग ब्राउट हालान्डले समान एक/एक गोल गरे । खेलको नवौं मिनेटमा सिल्भाले गोल गर्दै सिटीलाई शुरुवाती अग्रता दिलाएका थिए । दोस्रो हाफको पहिलो मिनेटमै लिएनार्द्रोले गोल गर्दै अल हिलाललाई १-१ गोलको बराबरीमा ल्याए । सात मिनेटपछि माल्कोमले गोल थप्दै अल हिलाललाई २-१ गोलको अग्रता दिलाए ।

५५ औं मिनेटमा हालान्डले गोल गर्दै सिटीलाई २-२ गोलको बराबरीमा ल्याएका थिए । बाँकी निर्धारित समयमा दुवै टोलीबाट थप गोल नभएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयको चौथो मिनेटमा कोउलीबालीले गोल गर्दै साउदी क्लबलाई ३-२ गोलको अग्रता दिलाए । १० मिनेटपछि फोडेनले गोल गर्दै सिटीलाई खेलमा फर्काएका थिए । यस्तै खेलको १ सय १२ मिनेटमा लिएनार्द्रोले व्यक्तिगत दोस्रो गोल गर्दै अल हिलाललाई ४-३ गोलको जित दिलाएका हुन् ।

जितसँगै अल हिलाल अन्तिम ८ मा पुग्दा सिटी प्रतियोगिताबाट बाहिरिएको छ । अब अल हिलालले क्वाटरफाइनलमा ब्राजिलियन क्लब फ्लुमिनेन्सको सामना गर्नेछ । फ्लुमिनेन्सले गएराति भएको अन्तिम १६ को खेलमा इन्टर मिलानलाई २-० गोलले स्तब्ध पारेको थियो ।

अब आज हुने अन्तिम १६ को खेलमा रियल म्याड्रिड र युभेन्टस तथा डर्टमण्ड र मोन्टेरी भिड्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *