सर्वाधिक व्यापार गर्ने २५ चलचित्रलाई बोर्डको सम्मान

 

काठमाडौँ ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाल चलचित्र विकास बोर्डको २५औँ वार्षिकोत्सवको अवसरमा सोमबार आयोजित कार्यक्रममा सर्वाधिक कमाइ गर्ने २५ चलचित्रलाई सम्मान गरेका छन् ।

मन्त्री गुरुङसहित सञ्चार मन्त्रालयका सचिव राधिका अर्याल, बोर्डका अध्यक्ष दिनेश डिसी र प्रथम अभिनेत्री भुवन चन्दले ती चलचित्रका निर्माता, निर्देशक र कलाकारलाई सम्मान प्रदान गरे ।

कार्यक्रममा सर्वाधिक कमाइ गर्ने चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’का कलाकार विजय बराल, निर्देशक सरोज पौडेल र निर्माता विनोद पौडेलले सम्मान ग्रहण गरे । उक्त चलचित्रको १७ लाख टिकट बिक्री हुँदा ४६ करोड ८७ लाख ४१ हजारको व्यापार गरेको थियो ।

यस्तै, बोर्ड स्थापना भएको वर्ष २०५७ असार १६ गतेदेखि हालसम्म सर्वाधिक कमाइ गर्ने चलचित्रको दोस्रो स्थानमा ‘कवड्डी–४’ले  २१ करोड ४० लाख ७५ हजार व्यापार गरेको थियो । उक्त चलचित्रका अभिनेता दयाहाङ राई, विजय बराल र बुद्धी तामाङले सम्मान ग्रहण गरे ।

यस्तै, तेस्रो स्थानमा रहेको ‘१२ गाउँ’ ले १९ करोड ९२ लाख ७७ हजार, चौथो स्थानमा ‘छक्का पञ्जा ४’ले रु १७ करोड ५३ लाख र पाँचौँ स्थानमा ‘जारी’ले रु १७ करोड ४८ लाख एक हजार व्यापार गरेवापत सम्मान प्राप्त गर्न सफल भयो । त्यसैगरी, छैठौँ स्थानमा ‘छक्का पञ्जा १’ (रु १६ करोड १० लाख २२ हजार ३५० रुपैयाँ), सातौँ स्थानमा ‘महाजात्रा’ (रु १५ करोड ६७ लाख ९९ हजार ६१४ रुपैयाँ), आठौँ स्थानमा ‘छक्का पञ्जा ५’ (रु १५ करोड २० लाख ३६ हजार), नवौँ स्थानमा ‘कोहिनुर’ (रु १४ करोड ७५ लाख ५० हजा) र दशौँ स्थानमा ‘छक्का पञ्जा २’ (रु १४ करोड ५१ लाख ५४ हजार २३० रुपैयाँ) व्यापार गरेवापत सम्मानित भए ।

अन्य सम्मानित चलचित्र ‘शत्रु गते’ (१२ करोड ६५ लाख ८२ हजार १३५ रुपैयाँ), ‘ऊनको स्वीटर’ (११ करोड ६ लाख ७६ हजार ६२१ रुपैयाँ), ‘कवड्डी–२’ (१० करोड ३५ लाख ३२ हजार २० रुपैयाँ), ‘बोक्सीको घर’ (१० करोड १० लाख २० हजार ९१७ रुपैयाँ), ‘छ माया छपक्कै’ (९ करोड ९२ लाख ८७ हजार १३९ रुपैयाँ), ‘दिमाग खराब’ (८ करोड ९८ लाख ६ हजार ९०७ रुपैयाँ), ‘अञ्जली’ (८ करोड ८३ लाख ५९ हजार ८४५ रुपैयाँ), ‘परदेशी २’ (७ करोड ९२ लाख ३८ हजार २४० रुपैयाँ), ‘छक्का पञ्जा ३’ (७ करोड ८३ लाख ८ हजार ८१ रुपैयाँ), ‘प्रेमगीत–३’ (७ करोड ६३ लाख ४५ हजार ३९२ रुपैयाँ), ‘कवड्डी कवड्डी कवड्डी’ (७ करोड ५९ लाख ५० हजार ६९२ रुपैयाँ), ‘पुजार सार्की’ (७ करोड ३८ लाख २३ हजार १८७ रुपैयाँ), ‘महापुरुष’ (७ करोड ३५ लाख ७९ हजार ८८५ रुपैयाँ), ‘कवड्डी’ (७ करोड ३४ लाख ९५ हजार २५० रुपैयाँ) र ‘पशुपति प्रसाद २ः भष्मे डन’ (७ करोड ३२ लाख २० हजार रुपैयाँ) गरे वापत सम्मानित भए ।
उल्लेखित चलचित्रले बोर्ड स्थापना भएदेखि सर्वाधिक व्यापार गरेको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *