नेदरल्यान्ड्सविरुद्ध टस हारेर पहिले ब्याटिङ गर्दै नेपाल

काठमाडौं । स्कटल्याण्ड भ्रमणमा रहेको नेपालले आईसीसी विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्सविरुद्ध केहिबेरमा हुने त्रिकोणात्मक सिरिजको आफ्नो चौथो तथा अन्तिम खेलमा टस हारेको छ । डुन्डेस्थित फोर्टहिलमा केहिबेरमा शुरु हुने खेलमा नेदरल्यान्ड्सका कप्तान स्कट एडवार्डले टस जितेर पहिले नेपाललाई ब्याटिङको निम्तो दिएका हुन्  ।

नेपालले आजको खेलमा तीन परिवर्तन गरेको छ । स्कटल्याण्डविरुद्ध खेलेका आसिफ शेख, गुलसन झा र सोमपाल कामीको स्थानमा अनिल शाह, बासिर अहमद र नन्दन यादवले मौका पाएका छन् ।

नेपाल आज जित निकाल्दै सिरिजको अन्त्य गर्ने लक्ष्यसाथ मैदान उत्रिनेछ । पहिलो खेलमा स्कटल्याण्डलाई एक विकेटले हराउँदै सिरिजको शुरुवात गरेको नेपालले दोस्रो खेलमा नेदरल्यान्ड्सलाई ५ विकेटले हराएको थियो । तेस्रो खेलमा कीर्तिमानी विजयी लक्ष्य पछ्याएको नेपाल स्कटल्याण्डसँग २ रनको झिनो अन्तरले पराजित भएको थियो ।

यता नेदरल्यान्ड्सले भने यस सिरिजमा जितको स्वाद चाख्न पाएको छैन । नेपाल र स्कटल्याण्डविरुद्ध एक/एक खेल खेलेको नेदरल्यान्ड्स दुवै खेलमा पराजित भएको छ । त्यसैले नेदरल्यान्ड्स आज पहिलो खेलमा भोगेको हारको बदला लिँदै सिरिजमा पहिलो जित निकाल्ने दाउमा रहेको छ ।

हाल नेदरल्यान्ड्स २२ खेलबाट २६ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा रहेको छ भने १५ खेल खेलेको नेपाल १० अंकको साथ सातौँ स्थानमा रहेको छ ।

नेपालको प्लेइङ ११:- कुशल भुर्तेल, अनिल कुमार शाह, भीम शार्की, रोहित पौडेल(कप्तान), आरिफ शेख, दीपेन्द्र सिंह एरी, बासिर अहमद, नन्दन यादव, करण केसी, सन्दीप लामिछाने

Leave a Reply

Your email address will not be published. Required fields are marked *