जैविक विविधता र पर्यटनका लागि हिमालको संरक्षण गर्नुपर्नेमा विज्ञहरुको जोड

काठमाडौं । जलवायु परिवर्तनका प्रभाव घटाउन क्रियाशील विभिन्न क्षेत्रका विज्ञले हिमाल जीवनशैलीका प्रमुख स्रोत भएकाले तिनको संरक्षण गर्नु विश्व समुदायको दायित्व भएकामा जोड दिएका छन्।

सगरमाथा संवादको दोस्रो दिन शनिबार ‘हिमालमा प्रकृति, संस्कृति र साहसिक कार्यको अन्वेषण’ विषयमा भएको छलफलमा उनीहरुले हिमाली पारिस्थितिकीय प्रणालीको सुरक्षाका लागि हिमालको सुरक्षा अपररिहार्य भएकामा जोड दिएका हुन् ।

हिमालदेखि तल्लो तटीय क्षेत्रसम्म संस्कृति र रहनसहन, वन्यजन्तु, जैविक विविधता र पर्यटनका लागि पनि हिमालको संरक्षण गर्नुपर्नेमा विज्ञहरुले जोड दिएका थिए ।

विश्व वन्यजन्तु कोष नेपालका राष्ट्रिय प्रतिनिधि डा. घनश्याम गुरुङले प्रमुख वक्तव्य दिएका थिए भने अक्सफामका नदी बेसिन प्रबन्धक राजन सुवेदी, ओमानका सगरमाथा आरोही नाधिरा अल–हार्थी, युगान्डाको जल तथा वातावरण मन्त्रालयका सहायक आयुक्त मौरीन अनिनो, सगरमाथा प्रदूषण नियन्त्रण समिति प्रमुख कार्यकारी अधिकृत छिरिङ शेर्पाले आफ्ना अनुभव र विज्ञतासहित धारणा व्यक्त गरेका थिए ।

हिमाली क्षेत्रले पृथ्वीको २२ प्रतिशत भाग ओगटेको छ। हिमाली क्षेत्रको पारिस्थितिकीय प्रणालीले विश्वका करिब आधा जनसंख्याको जीविकोपार्जनमा सहयोग गर्दै आएको जनाइएको छ ।

हिन्दूकुश हिमालय क्षेत्र, यसको अद्वितीय र विविध संस्कृति, भाषा, धर्म, विश्वास, एक हजारभन्दा बढी भाषाहरू र परम्परागत ज्ञान प्रणालीले वार्षिक रूपमा सात करोडभन्दा बढी पर्यटकलाई आकर्षित गर्दछ।

हिमाली पारिस्थितिकीय प्रणालीको अखण्डतालाई सुदृढ गर्ने नवीन समाधान पहिचान गर्ने, धेरै जनसंख्यालाई लाभ पुर्‍याउन प्राकृतिक पुँजीमा लगानी बढाउने तरिकाहरू अन्वेषण गर्ने उद्देश्यसहित यो सत्र सञ्चालन गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *