चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध जिल्ला अदालत चितवनमा ठगी मुद्दा दर्ता भएको छ ।
मंगलबार चितवन जिल्ला अदालतमा रविविरुद्ध सहकारी ठगीको मुद्दा दर्ता भएको हो । यसअघि उनीविरुद्ध यस्तै प्रकरणमा कास्की अदालत, काठमाडौं अदालत र रुपन्देही अदालतमा पनि मुद्दा दर्ता भइसकेको छ ।
चितवनको साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था ठगी प्रकरणमा उनीविरुद्ध मुद्दा दर्ता भएको हो । जिल्ला सरकारी वकिल कार्यालय चितवनले लामिछानेसहित यो प्रकरणमा १५ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।
१५ जना र ६ वटा संस्थाविरुद्ध मुद्दा दायर गरिएको जिल्ला सरकारी वकिल कार्यालय चितवनले जानकारी दिएको छ ।
जिल्ला सरकारी वकिल कार्यालयका अनुसार लामिछाने, रामबहादुर खनाल, रबिना रिमाल, विशाल तामाङ,नवीन अछामी, कविता तामाङ, दीपक लामा, असरफ अलि सिद्दिकी, भगवती बम्जन, लक्ष्मीप्रसाद पौडेल, विज्ञान राई, नेत्रपाणि बास्तोला , शिवबहादुर गुरुङ र प्रगती श्रेष्ठविरुद्ध मुद्दा दर्ता गरिएको हो । रविलाई सहकारी ठगीमा मात्रै मुद्दा दर्ता गरिएको छ भने अन्य १२ जनालाई संगठित अपराध कसुरमा पनि मुद्दा दर्ता गरिएको सरकारी वकिल कार्यालयले जनाएको छ ।
प्रहरीको अनुसन्धान प्रतिवेदनमा यो सहकारीको ३८ करोड ९ लाख ७९ हजार रूपैयाँ हिनामिना भएको उल्लेख छ ।