खुम्बु क्षेत्रमा हुने हेलिकोप्टर तथा जहाज उडान स्थगन

काठमाडौँ । वायुसेवा सञ्चालक संघले खुम्बु क्षेत्रमा हुने सबै हेलिकोप्टर तथा जहाजका उडान अनिश्चितकालका लागि स्थगन गरेको छ ।

सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने खुम्बु पासाङ ल्हामु गाउँपालिकालगायतका स्थानीय समूहले धम्की दिएको भन्दै संघले उडान बन्द गर्ने निर्णय गरेको हो ।

संघका प्रथम उपाध्यक्ष प्रतापजंग पाण्डेले आइतबार विज्ञप्ति जारी गरी आइतबारदेखि त्यस क्षेत्रमा हुँदै आएका उद्धार, चार्टर तथा व्यावसायिक उडान स्थगन गरेको जानकारी दिएका छन् ।

स्थानीय युवा समूह, क्लबलगायत सरोकारवालाहरूले हेलिकोप्टर अवतरण भएमा चालकलाई समातेर कारबाही गर्ने जस्ता अभिव्यक्ति सञ्चारमाध्यममार्फत व्यक्त गरेका कारण हेलिकोप्टर सुरक्षाको पूर्ण प्रत्याभूति नभएसम्म त्यस क्षेत्रका सबै उडान वायुसेवा कम्पनीले अनिश्चितकालका लागि स्थगन गरेको पाण्डेले जनाएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘यो निर्णयबाट यात्रु महानुभाव तथा सर्वसाधारणमा पर्न जाने असुविधाप्रति वायुसेवा सञ्चालक संघ क्षमायाचना गर्दछ ।’

हेलिकोप्टर उडानले निकुञ्जको वन, वातावरण तथा वन्यजन्तुको सुरक्षा तथा बासस्थानमा चुनौती थपिएको भन्दै पुस १७ देखि उद्धारबाहेक पर्यटकका लागि हुने चार्टर उडान रोकिएको हो ।

उडान सञ्चालन गर्न शुक्रबार गृहमन्त्री रमेश लेखक, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीसहित सरोकारवालाहरूको बैठक बसेको थियो । बैठकले प्रमुख जिल्ला अधिकारीलाई समस्या हल गर्न निर्देशन दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *