फर्किम अब आफ्नै पहिचानमा

नारायण गाउँले ।

पचास वर्षअघिसम्म युरोप र नेपालबीच धेरै कुरामा समानता रहेछ । एकदुई तलाको घर, काठको धुरी खाँबो र दलिन, माटो, ढुङ्गा या काठकै भित्ताहरू, काठकै डाँडा र भाटाहरू, झिँगटी, ढुङ्गा या टायलले छाएका छानाहरू, घरअगाडि आँगन, पछाडि करेसाबारी, दुई चारवटा रुखबिरुवा, वरपर काठको बार, त्यसमा बाँसको तगारो, घरभित्र मुदुस या सन्दूक, नजिकै खुला चौर या गौचरन, सार्वजनिक ठाउँमा आँप, कटहर, ऐंसेलु, काफल, बड़हर, डुम्री जस्ता फलफूलका बोटहरू…

युरोप आज पनि उस्तै छ । एकदम बाक्लो शहरभित्र अग्ला केही अपार्टमेन्टबाहेक आवासीय घरहरू आज पनि उस्तै छन् । काठ र इँटाले बनेका । काठकै दलिन र डाँडाभाटा, अनि ढुङ्गा र माटोका टायलहरू ! अझै पनि घरभित्रका फर्निचर काठकै छन्, गार्डेनका पर्खालहरू काठकै छन् । पार्कहरूमा बस्ने बेन्चदेखि खेल्ने सामग्रीसम्म अधिकांश काठ नै छ ।

घरहरू कति पनि हेभी छैनन् । जमीनमुनि हात्तीपाइले गाडेर छड र कंक्रिटले बनेका छैनन् । सिमेन्टको त निश्चित आयु हुन्छ । पचास वर्ष, साठी वर्ष । भोलि तिनलाई कसरी भत्काउने, त्यो शहरका शहर घरहरू कहाँ लगेर फाल्ने, अर्काको जगसमेत छुने हात्तीपाइलेलाई के गर्ने भन्ने समस्या त्यहाँ छैन । धेरै जसो सामग्री पुनःप्रयोग हुन्छ, अरू माटोमा मिल्छ, सकिन्छ । आज बन्ने घर पनि उस्तै छन्, जुन दुई सयवर्षअघि बनेका थिए ।

हाम्रो परम्परित निर्माण पद्धति पनि यस्तै नै रहेछ । अझ हाम्रो त बार्दली पनि हुने, गोला गोला आकारका पनि हुने, पिँढ़ी र कौसी पनि हुने । तल भान्सा, भकारी र बैठक, माथि कोठा । युरोपका आजका घरभन्दा सुन्दर, तीभन्दा बलिया र तीभन्दा ठूला । ढोका होस् या आँखी झ्याल, तिनमा अद्भुत कलाकारिता र कुँदाइ । युरोपमा तीन वटा कोठा भएको घरलाई ठूलो मानिन्छ । हाम्रो ग्रामीण डिजाइन र निर्माण शैलीका घरमा कोठै कोठा । युरोपमा टेरेस अर्थात् भित्तो जोडिएका घर हुन्छन्, हाम्रा त स्वतन्त्र उभिएका । त्यस्तो ’डिट्याच्ड’ घर युरोपमा निकै महँगो हुन्छ । अनि भत्कायो भने कुनै ठूलो ‘फुटप्रिन्ट’ बाँकी नरहने वातावरणमैत्री संरचना । हाम्रो ग्रामीण घरको सबै सामग्री स्थानीय ।

हामी धनी हुँदै गयौँ । टायल र झिँगटीको ठाउँ टिनले लियो । बर्खामा बोलेको आवाज सुन्न नसकिने अनि चिसोमा तपतप शीत चुहिने जस्तापाता हाम्रो राष्ट्रिय छानो भयो । पाँच तला बनाउनेलाई र दुई तला बनाउनेलाई उस्तै उस्तै हात्तीपाइले र विशाल पिलर हाम्रो नीति भयो । काठ हरायो । विदेशबाट ढुवानी गरी ल्याउने निर्माण सामग्रीभन्दा देशमा उत्पादन हुने काठ महँगो भयो । जङ्गललाई कसरी राष्ट्रिय जीवन र अर्थतन्त्रसँग जोडेर लैजाने भन्ने भएन । घरनिर्माण जस्तो अत्यन्त संवेदनशील विषयमा हाम्रो राष्ट्रिय नीति र दृष्टि नै बनेन । आज न गरिबले घर बनाउन सक्छ, न घर स्थानीय सामग्रीले बन्न सक्छ । न घाम र उज्यालो कति चाहिन्छ भन्ने नीति छ, न कति सङ्ख्याको परिवारलाई कति ठूलो घर आवश्यक छ भन्ने सोच छ । न घरनिर्माणमा कम्तिमा यति अंश पुनप्र्रयोग हुने सामग्री चाहिन्छ भन्ने छ, न अबको सय वर्षपछि यो कङ्क्रीटको जङ्गल फाल्ने ठाउँ नै छ । यो आजको कुरो भयो ।

तर, पचास वर्षअघिको काठमाडौं र आजको युरोपका शहर उस्तै देखिन्छन् । हामीसँग पनि कला रहेछ, शिल्प रहेछ, सामग्री रहेछ, सोच र दूरदृष्टि सबै रहेछ । आज त्यस्ता घर कि इतिहास, कि गरिबी, कि पर्यटकीय गन्तव्य मात्रै हुनु दुःखद छ ।

हामी अलि बढी बदलियौं या उनीहरू पुरानै रहे । आजचाहिँ घर मात्रै हेर्ने हो भने हामी धेरै धेरै धनी देखिन्छौं । अरबको खाडीमा पसिना बगाउने र जम्मा तीन सदस्य भएको परिवारसँग पनि आज तीन तले विशाल घर छ, भलै अगाडि एउटा पार्किङ र पछाडि सागसब्जी उमार्ने ठाउँचाहिँ नहोस् । कम्तिमा हाम्रो शहर हेरेर कसैले हामीलाई गरिब भन्न सक्दैन । तर मनमा लागेको कुरो के भने, त्यही स्थानीय सामग्री र डिजाइनकै घर बनाउन पाइने नीति हुन्थ्यो भने शायद घर बनाउनकै लागि अरब जान पर्दैनथ्यो, घाम छेकेर पाँच तले घर साँधमा उभिन्नथ्यो भने तीन जनाको परिवारले तीन तले टावर बनाउन पर्दैनथ्यो । एकपल्ट तपाईं पनि सोधखोज र चिन्तन गरि हेर्नुस् न ल !

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *