मलेसियामा नेपाली श्रमिकको भोगाइको यथार्थ ‘निरजोया’

काठमाडौँ ।“कसो माछाको चारो भइएन गाँठे ! ठूलो खड्कोबाट बचेँ, आङ सिरिङ्ङ हुन्थ्यो त्यो घटना सम्झँदा”, दाजु गुरूङको उपन्यास ‘निरजोया’ बाट लिइएको एक अंश हो यो ।

‘निरजोया’ निरज र जोया मिलेर बनेको हो । निरज र जोया कृतिका मुख्य पात्र हुन् । सात दिनका लागि भिजिट भिसामा मेलेसिया गएको निरजले मलेसियाकी जोयासँग भेटेपछि उतै बस्छ । निरज र जोया लिभिङ टुगेदरमा बस्छन् । त्यहाँ बस्दा निरजको जिन्दगीको भोगाइ, पीडा र सुखमय जीवनभित्रका पीडालाई सुन्दर तरिकाले कृतिमा प्रस्तुत गरिएको छ । भिजिट भिसामा लुकेर गैरकानुनीरूपमा बस्दा निरज जेलमा नराम्रोसँग यातना पाएको हुन्छ । मृत्युको मुखबाट जोगिएर निरज  नेपाल फर्कन्छ । नेपालमा तत्कालीन अवस्थामा दशवर्षे सशस्त्र द्वन्द्व चलिरहेको हुँदा निरज सपरिवार हङकङमा गएर बस्छन् ।

“ताप्लेजुङको भूमिका जन्मिएर मलेसियाको भूमिमा रहेका निरजलाई मलेसियाको रहना विभाजित मानसिकता देखिएको लाग्छ”, साहित्यकार हेम भण्डारीले कृतिमाथि समीक्षा गर्दै भने, “निरजले मलेसियालाई पनि छोड्न सक्दैन, गाउँघरको हरेक यादहरू उस्तै सधैँ उसलाई प्रिय लाग्छ ।”

गैरकानुनीरूपमा बसेको निरजलाई काम गर्न सहज नभएपछि जोयाले तिमी बस म काम गर्छु भनेकी हुन्छिन् तर नेपाली समाजमा हुर्किएको निरजलाई त्यो सहज लाग्दैन । “जोयाले काम गरेर दुवैको जीवनमा खुसी र आनन्द हुन्छ, तर निरजलाई जोयाले कमाएको खाँदा मनभित्र खिन्न हुन्छ”, पेसाले पत्रकार भण्डारीले थपे, “जोयाले प्रयोगको साधन भएको महसुस निरजलाई हुन्छ, पिँजडाको चरोजस्तो महसुस हुन्छ, नेपाली समाजमा पुरूष भोगमा डुब्नेजस्तै मलेसियामा महिला भोगमा चुर्लुम डुबेका कृतिमा देखिन्छ, मलेसियाको समाजमा महिला स्वतन्त्रता बढी देखिएको छ ।”

नेपाली संस्कृतिमा हुर्किएको निरज आफ्नी चार महिनाको गर्भवती श्रीमती जसमायालाई छोडेर मलेसिया गएको हुन्छ । मुस्लिम संस्कृतिकी जोयासँग लिभिङ टुगेदरमा बस्दा मनमा चैन हँुदैन । जोयाको आमाले पिँजडामा मरेको चरोलाई समातेर डस्टिनमा फालेको देखेपछि आफूलाई पनि प्रयोग गरिएको र आफ्नो जीवन पनि पिँजडाको चरासँग तुलना गरेर केवल आफ्नो शरीर प्रयोग भएको महसुस हुन्छ र आफूलाई बस्तुको रूपमा प्रयोग गरिएको बोध हुन्छ । एकदिन आफ्नो पनि त्यही चराको जुनी हुने सम्झेर निरजलाई आत्मबोध हुन्छ ।

“आफ्नो देशमा द्वन्द्वको व्यवस्थापन हुन नसक्दा जनताले पाएको दुःखलाई पनि कृतिमा देखाउन खोजिएको छ”, साहित्यकार भण्डारीले जोडे, “वीर गोर्खालीका नाममा विदेशी युद्धमा नेपाली होमिएको र रोजगारीका लागि विदेश जाने संस्कृति पनि मौलाएको कुरा कृतिमा सुन्दररूपमा प्रस्तुत गरिएको छ ।” उपन्यासमार्फत पलायनवादी सोचलाई रोक्नुपर्ने सन्देश दिन खोजिएको छ ।

साहित्यकार अनिता कोइरालाले उक्त कृतिमाथि समीक्षा गर्दै मलेसियामा काम गर्ने नेपाली श्रमिकको भोगाइलाई सुन्दर तरिकाले प्रस्तुत गरिएको सुनाइन् । “हिजो ‘मुना–मदन’ मा मदनको भोटमा गएर काम गर्नुपर्नेको कारणजस्तो थियो, आज मलेसियामा नेपाली श्रमिकको जीवन पनि उस्तै छ”, साहित्यकार कोइरालाले थपिन्, “सुखको फूल टिप्न जाँदा पाएको दुःख र भोगाइलाई सुन्दर चित्रण गरिएको छ ।” मलेसियामा बस्दा जोयाले गरेको अभुदपूर्व प्रेम, जेलमा बस्दा पनि जोयाले गरेको असिम सहयोगले पनि निरजलाई शान्ति दिन नसकेको प्रसङ्ग जोड्दै उनले थपिन्, “धन कमाउने र सुख पाउने सपना देखेर कहिलेसम्म विदेशिने भन्ने प्रश्न पनि यो उपन्यास पढिरहँदा मेरो मनमा आइरहयो ।”

पुस्तकमा नेपाल–मलेसियाबीच श्रम सम्झौता नभएको अवस्थामा नेपाली भिजिट भिसामा जाने र उतै लुकेर बसेर काम गर्नु पर्दाको नेपालीको भोगाइलाई कृतिमा समेटिएको छ । श्रम गर्न ठाउँका सुखभित्रमा नेपालीले भोगेका कहालीलाग्दा पीडा र विदेशमा बसेर पनि आफ्नो जन्मभूमिका साथै परिवारको प्रेमलाई उठान गरिएको छ । नेपालीको विदेश पलायन हुने लहर नै चलेको छ, विदेशमा श्रम गर्न जाने नेपालीको भोगाइ उस्तैउस्तै छन्”, लेखक गुरूङले भने, “आफूले देखेका भोगेका र सुनेका कुरालाई आफूले उपन्यासमार्फत लेखेको हुँ, पहिला घुम्न जानेलाई काम गर्न पाउने अवस्था थिएन ।”

‘कलमका साथी’ नामक संस्थाले गत शनिबार उक्त कृतिमाथि विमर्श गरिएको थियो । पैरवी फिनिक्स बुकले प्रकाशन गरेको उक्त उपन्यासमा ६५ वटा लेख छन भने दुई सय ९४ पृष्ठ छ । उपन्यास समग्रमा श्रमका लागि विदेशिने नेपालीको भोगाइमा आधारित छ ।

पूर्वी नेपालको सङ्खुवासभा, मादीमा जन्मिएर हङकङमा बसेर साहित्य साधनारत सात्यिकार गुरूङको ‘निरजोया’ उपन्यास तेस्रो कृति हो । उनको पहिलो कथासङ्ग्रह ‘टाँकीका फूलहरू’ र दोस्रो कृति कथासङ्ग्रह ‘लाइ–सी’ रहेको छ । उनको चौथो कृतिकारूपमा नियात्रा प्रकाशनको तयारीमा छ । परदेशमा बस्दा आफ्नो देश र आफू जन्मिएको माटोलाई सम्झिँदै लेखिएको उक्त कृति पढेपछि साहित्यकार भारती न्यौपानेले आफूलाई महसुस भएको कुरा व्यक्त गर्दै भनिन्, “आमाको काख र गाउँको माया भनेको त उस्तै उस्तै रैछ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *