ल्हासाकाे एक मात्र अन्तर्राष्ट्रिय हवाई गन्तब्यकाे रूपमा रहेकाे नेपालकाे एकाधिकार तोडिने

काठमाडौँ । चीनको तिब्बतसँग रहेको नेपालको हवाई सम्पर्कको ३७ वर्षयताको एकाधिकार तोडिने भएको छ ।

तिब्बतको ल्हासास्थित कोङ्कार अन्तर्राष्ट्रिय विमानस्थलबाट सिंगापुर र चीनकाे विशेष प्रशासनिक क्षेत्र हंगकंगसम्म उडान हुने भएपछि नेपालसँग रहँदै आएको एक मात्र अन्तर्राष्ट्रिय हवाइ सम्पर्कको एकाधिकार तोडिने भएको हो ।

हालसम्म तिब्बतको ल्हासाको एक मात्र अन्तर्राष्ट्रिय हवाई सम्पर्क काठमाडौँसँग छ ।

सन् १९८७ सेप्टेम्बर १२ तारिखका दिन औपचारिकरुपमा ल्हासा र काठमाडौँबीच हवाई सम्पर्क सुरु भएको थियो । यो नै नेपाल र चीनबीचको पहिलो हवाई सम्पर्क पनि हो ।

करिब एक महिना बाँकी छदैँ यो वर्ष तिब्बतमा हवाई यात्रुको संख्या ७० लाख माथि पुगिसकेकाे छ । यो हालसम्म कै उच्च संख्या हो ।

यो वर्षको अन्तसम्म तिब्बतको हवाई यात्रुको संख्या ७७ लाख पुग्ने अनुमान गरिएको चाइना डेलीले जनाएको छ ।

यसै वर्ष नयाँ १० आन्तरिक गन्तब्यमा उडान थपेको सिचाङ (तिब्बत) एअरपोर्ट ग्रुपले ल्हासाबाट सिंगापुर र हंगकंगमा उडान गर्ने तयारी गरेको जनाइएको छ । चीनको हंगकंग र मुख्यभूमीबीचको हवाई उडानलाई अन्तर्राष्ट्रिय उडानको रुपमा लिइन्छ ।

कोरोना महामारीका कारण ल्हासा काठमाडौँ रुटमा उडान ठप्प हुनुअघि एअर चाइनाले दैनिक र सिछुवान एअरलाइन्सले हप्तामा चार उडान भर्दै आएका थिए । सो रुटमा दुबै एअरलाइन्सले हालसम्म उडान सुचारु गरेका छैनन् ।
बरु नेपाल चीन संयुक्त लगानीको हिमालय एअरलाइन्सले गत वर्षको डिसेम्बर अन्ततिरबाट ल्हासा काठमाडौँ उडान सुरु गरेको थियाे । ल्हासामा उडान गर्ने हिमालय एअरलाइन्स पहिलो र  एक मात्र विदेशी कम्पनी हाे ।

हवाई मार्गबाट तिब्बत जाने तेस्रो देशका यात्रुका लागि काठमाडौँ एउटा प्रमुख ट्रान्जिट पोइन्ट हाे । कनेक्टिभिटीका हिसावले सिंगापुर र हंगकंग सजिलो र सुविधाजनक ट्रान्जिट पोइन्ट भएकोले तिब्बतलाई गन्तब्य बनाएर नेपाल आउने तेस्रो देशका पर्यटकको संख्या कम हुने पर्यटन व्यवसायी बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *