एजेन्सी । आईसीसी टी-२० विश्वकपमा अष्ट्रेलिया विजयी भएको छ । आइतबार बिहान भएको खेलमा अष्ट्रेलियाले स्कटल्याण्डलाई ५ विकेटले पराजित गरेको हो ।
जितको लागि १ सय ८१ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलियाले १९.४ ओभरमा ५ विकेटको क्षतिमा १ सय ८६ रन बनाउँदै लक्ष्य भेट्टाएको हो । अष्ट्रेलियाको लागि ट्रेभिस हेडले सर्वाधिक ६८ रन बनाए । उनले ४९ बलमा ५ चौका र ४ छक्का हिर्काए । यस्तै मार्कुस स्टोइनिसले ५९, टिम डेभिडले २४ र ग्लेन म्याक्सवेलले ११ रन बनाए ।
स्कटल्याण्डको लागि मार्क वाट र साफियान शारिफले समान दुई/दुई विकेट लिंदा ब्राड विलले एक विकेट लिए ।
यसअघि ड्यारेन शामी राष्ट्रिय क्रिकेट स्टेडियममा भएको खेलमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको स्कटल्याण्डले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ८० रन बनाएको थियो । स्कटल्याण्डको लागि ब्राण्डन म्याकमुलेनले सर्वाधिक ६० रन बनाउँदा रिचे बेरिन्घटनले ४२, जर्ज मुन्सेले ३५ र म्याथेउ क्रसले १८ रन बनाए ।
इंग्ल्याण्डको लागि ग्लेन म्याक्सवेलले दुई विकेट लिंदा अश्टन अघर, नाथन इलिस र एडम जाम्पाले समान एक/एक विकेट लिए । जितसँगै अष्ट्रेलिया ४ खेलबाट ८ अंक जोड्दै समूह ‘बी’को शीर्ष स्थानमा रहँदै अन्तिम आठमा पुग्दा समान खेलबाट ५ अंक जोडेको स्कटल्याण्ड तेस्रो स्थानमा रहँदै प्रतियोगिताबाट बाहिरिएको छ ।
अष्ट्रेलियाको जितसँगै इंग्ल्याण्डपनि दोस्रो स्थानमा रहँदै अन्तिम आठमा पुगेको छ । इंग्ल्याण्डले गएराति भएको खेलमा नामिबियालाई ४१ रनले हराएको थियो ।