बेलायती लगानीका लागि राजदूत फेनसँग महासंघ अध्यक्ष ढकालको आग्रह

काठमाडौं ।  नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बेलायती लगानीको लागि अनुरोध गरेका छन् । नेपालका लागि बेलायती राजदूत रोब फेनसँग शुक्रबार भएको भेटमा ढकालले नेपालमा वैदेशिक लगानीको सम्भावना बारे जानकारी गराए।

नेपाल र बेलायतबीच लामो समयदेखि द्विपक्षीय सम्बन्ध रहेको उल्लेख गर्दै ढकालले बेलायती राजदूतलाई दुई देशबीचको व्यापार र लगानीलाई थप प्रवर्द्धन गर्न आग्रह गरे।

निजी क्षेत्रले कुल गार्हस्थ्य उत्पादनमा ८१ प्रतिशत र रोजगारीमा ८७ प्रतिशत योगदान पुर्‍याइरहेको अवस्थाबारे पनि उनले राजदूतलाई जानकारी गराए। नेपालमा वैदेशिक लगानी आएमा निजी क्षेत्रले थप योगदान दिनसक्ने बताए।

ढकालले मुलुकमा व्यवसाय गर्न सहज वातावरण भएको पनि बताए। नेपाल उद्योग वाणिज्य महासंघको सल्लाहमा सरकारले लगानी प्रक्रियालाई सहज बनाउन आठवटा लगानी ऐन परिमार्जन गरेको उनले राजदूत फेनलाई जानकारी गराए।

ढकालले राजदूत फेनलाई नेपालमा लगानीका विभिन्न अवसरबारे जानकारी गराए। उनले जलविद्युत क्षेत्र, सूचना प्रविधि, पूर्वाधार र पर्यटन क्षेत्रमा लगानीको प्रशस्त सम्भावना रहेको बताए।

‘नेपालको अधिकांश आर्थिक क्षेत्र पूर्ण रूपमा प्रयोग हुन सकेको छैन, त्यसैले लगानीकर्ताले छनोट गर्नुपर्ने धेरै क्षेत्रहरू छन्’, ढकालले भने।

भेटको क्रममा राजदूत फेनले द्विपक्षीय लगानी सम्झौताको खाका तयार पार्न पहल गरेकोमा नेपाल उद्योग वाणिज्य महासंघलाई धन्यवाद दिए। दोहोरो करमुक्ति सम्झौताबारे पनि चासो राखेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *