चन्द्रिका हत्या प्रकरणः उनका प्रेमी भनिएका शिवशंकर पनि मृत फेला

विराटनगर । विराटनगरस्थित नोबेल अस्पतालमा कार्यरत नर्सको हत्यामा संलग्न रहेको आशंका गरिएका उनका प्रेमी पनि मृत फेला परेका छन् । विराटनगर महानगरपालिका–४ स्थित होटल फाइनको एउटा कोठामा उनी झुण्डिएको अवस्थामा गएराति फेला परेका प्रहरीले जनाएको छ ।

सिरहा घर भएकी २५ वर्षीया स्टाफ नर्स चन्द्रिका कुमारी दासको हत्यामा संलग्न रहेको संकेतका आधारमा प्रहरीले खोजी गरिरहेका २२ वर्षीय शिवशंकर दास होटलमा मृत फेला परेका जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी रञ्जन दाहालले जानकारी दिए । उनले आत्महत्या गरेको प्रहरीले अनुमान गरेको छ ।

नर्स चन्द्रिकुमारी विराटनगर–४ बुढाथोकी मार्गस्थित धीरेन्द्र गिरीको घरमा कोठा भाडामा लिएर बस्दै आएकी थिइन् । उनी शौचालयमा गत शुक्रबार मृत फेला परेकी थिइन् । घाँटीसहित शरीरका विभिन्न भागमा धारिलो हतियारको चोट भेटिएको थियो । प्रारम्भिक अनुसन्धानका क्रममा प्रेमी शिवशंकरले उनको हत्या गरेको केही संकेत पाएपछि प्रहरीले खोजी तीव्र बनाएको थियो ।

उनीहरुको प्रेम सम्बन्धमा खटपट आउनु हत्या र आत्महत्याको प्रमुख कारण हुनसक्ने प्रहरीको अनुमान छ । प्रहरहीका अनुसार शिवशंकर दुई वर्ष मलेसियामा बसेर गत फागुनमा नेपाल आएका थिए । विराटनगर आएपछि उनी चन्द्रिकाकै डेरामा बसेको पाइएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *